क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स

-


     कालिका दर्शन     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरूको अखबार ‘सिकागो ट्रिब्युन’ का एक संवाददाताले महान् समाजवादी चिन्तक कार्ल मार्क्ससँग उनकै लन्डनस्थित घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरू दुवैको भावनात्मक झड्काको विस्फोटन बनेको थियो । यसको हरेक रचनाले मार्क्सलाई विश्व षड्यन्त्रको ‘मास्टरमाइन्ड’को रूपमा चरितार्थ गर्‍यो (यहाँ ‘षड्यन्त्र’ तत्कालीन बुर्जुवाहरूले प्रयोग गरेको शब्द हो) । एउटा रूढिवादी अखबारमा मार्क्सको यो नै लामो अन्तर्वार्ता हो, जुन उनले त्यसअघि कहिल्यै दिएका थिएनन् । )संवाददाता : समाजवादी आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरूलाई समाजको सार्वजनिक सम्पत्तिका रूपमा फेर्नु होइन ?

मार्क्स : पक्कै हो । आन्दोलनको परिणाम यस्तै हुनेछ । तर त्यसका लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाहरूको जरुरत पर्नेछ ।

संवाददाता : तपाईंहरूको यो घोषणापत्र र मोर्चा केवल जर्मनी वा केही त्यस्तै एक–दुईटा देशका लागि मात्र उपयोगी हुनेछन् ।

मार्क्स : वाह ! तपाईं यही घोषणापत्र मात्रै पढेर हाम्रा बारे नतिजा निकाल्ने प्रयास गर्नुहुन्छ भने म भन्छु– तपाईं हाम्रो संगठनका गतिविधिका बारेमा केही जान्न सक्नुहुन्न ।

स्पष्ट छ– यस घोषणापत्रका कैयौं कुराहरूको जर्मनीभन्दा बाहिर कुनै महत्त्व छैन । स्पेन, रुस, बेलायत र अमेरिकामा ती देशका आ–आफ्ना विशेष कठिनाइअनुरूप मोर्चा र संगठन बनेका छन् । ती सबै संगठनबीच समानता भनेको केवल उद्देश्य मात्रै हो जुन हामी सबै प्राप्त गर्न चाहन्छौं ।

संवाददाता : त्यो उद्देश्य भनेको मजदुरवर्गको प्रभुत्व कायम गर्नु हो ?

मार्क्स : होइन । त्यो उद्देश्य हो, मजदुरवर्गको मुक्ति ।

संवाददाता : के युरोपका समाजवादीहरू अमेरिकी मजदुर आन्दोलनलाई महत्त्वपूर्ण मान्दछन् ?

मार्क्स : हो । अमेरिकी मजदुर आन्दोलन त्यो देशको विकासको स्वाभाविक परिणाम हो । के पनि भनिन्छ भने त्यहाँ विदेशीद्वारा बाहिरबाट आन्दोलन ल्याइएको हो ।

आजभन्दा ५० वर्षअगाडि जब बेलायतमा मजदुर आन्दोलन जुझारु हुन थालेको थियो, यहाँ पनि त्यस्तै भनिएको थियो । यो कुरा समाजवादको चर्चा हुन थाल्नुभन्दा अगावैको हो ।

अमेरिकामा सन् १८५७ देखि नै मजदुर आन्दोलन प्रभावशाली हुन लागेको हो । त्यसपछि मजदुर युनियन फल्न–फुल्न थाले । त्यसपछि त्यस्ता मजदुरसभाको निर्माण हुन थाल्यो जसबाट विभिन्न उद्योगमा काम गर्ने मजदुरहरूबीच एकता कायम भयो ।

अन्त्यमा राष्ट्रिय मजदुर संघको स्थापना भयो । तपाईंले यो क्रमिक विकासमाथि ध्यान दिनुभयो भने थाहा हुनेछ– विदेशीहरूको मद्दतविना नै अमेरिकामा समाजवाद पैदा भयो र त्यो पुँजीको केन्द्रीकरण तथा मजदुर एवं मालिकको बदलिँदो सम्बन्धका कारण सम्भव भयो ।

संवाददाता : तपाईंको समाजवादले अहिलेसम्म के–के गर्‍यो ?

मार्क्स : दुईवटै कुरा भएका छन् । समाजवादीहरूले पुँजी र श्रमको व्यापक संघर्षको बाटो देखाएका छन् । अर्थात् त्यसलाई विश्वव्यापी बनाएका छन् ।

यसैको फलस्वरूप संसारभरका मजदुरहरूबीच एकताको विचार जन्मिएको छ । विचार अहिले अझ बढी आवश्यक भएको छ किनकि पुँजीपतिहरूले मजदुरको बहालीका लागि संसारभरका मजदुरमाथि आँखा लाउन थालेका छन् ।

अमेरिकामा मात्रै होइन, बेलायत, फ्रान्स र जर्मनीका पुँजीपतिहरूले समेत स्वदेशी मजदुरविरुद्ध विदेशी मजदुरलाई उपयोग गर्न थालेका छन् । यसबाट के साबित भयो भने समाजवाद कुनै स्थानीय समस्या होइन रहेछ ।

यसको समाधान त संसारभरका मजदुर एक भएर गर्नुपर्ने रहेछ । मजदुरवर्ग आफ्नो आन्दोलनका उद्देश्यका बारेमा ज्ञान नहुँदा–नहुँदै आफसेआफ लगातार अगाडि बढिरहेको छ । समाजवादीहरूले त आन्दोलनको चरित्र र उद्देश्य बताउने काम गरेका हुन् ।

संवाददाता : मेरो विचारमा यसको मतलब हो, वर्तमान समाज–व्यवस्थालाई उखेलेर फ्याँक्नु ।

मार्क्स : वर्तमान व्यवस्थामा एकातिर पुँजीपतिहरूको हातमा पुँजी र भूमि छ अनि अर्कातिर मजदुरहरूसँग एउटा बजारको वस्तुका रूपमा बेच्नका लागि श्रमशक्ति मात्रै छ ।

यो व्यवस्था पनि एउटा त्यस्तो ऐतिहासिक अवस्था हो, जुन समाप्त हुनै पर्छ र त्यसको ठाउँमा योभन्दा बेसी उन्नत सामाजिक व्यवस्था कायम हुनैपर्छ । हामीलाई थाहा छ– सबै ठाउँमा समाज वर्गहरूमा विभाजित छ ।

आधुनिक औद्योगिक देशहरूमा औद्योगिक साधनहरूको विकाससँगसँगै पुँजीपति र मजदुरवर्गबीचको वैमनस्य पनि बढिरहेको छ । समाजवादीहरूको दृष्टिकोणमा वर्तमान ऐतिहासिक अवस्थामा क्रान्तिको तत्त्व विद्यमान छ ।

कैयौं देशमा मजदुर युनियनहरूका आधारमा राजनीतिक संगठन पनि निर्माण भएका छन् । अमेरिकामा पनि मजदुरवर्गको आफ्नै एउटा पार्टी बनाउन जरुरी छ ।

मजदुरहरूले अब पेसेवर राजनीतिज्ञहरूमाथि अरू बेसी भरोसा गर्न सक्दैनन् । सांसदहरू गुटबाजीको सिकार भएका छन् र संसद् त्यस्तैको अखडा भएको छ ।

राजनीति व्यवसाय भएको छ । यो दशा अमेरिकामा मात्र होइन, युरोपको पनि यस्तै हाल छ । फरक के मात्रै हो भने युरोपबासीहरूको

तुलनामा अमेरिकी जनता केही बेसी सावधान र दृढनिश्चयी हुन् । अमेरिकामा सबैको रहस्य तुरुन्तै खुल्छ । महासागरको वारि जति शब्द–आडम्बर र मारकाट छ, त्यति उता पारितिर छैन ।

संवाददाता : जर्मनीमा समाजवादी पार्टीको तीव्रतापूर्वक भएको विकासको कारण के हो ?

मार्क्स : जर्मनीको वर्तमान समाजवादी पार्टी धेरै नै नयाँ हो । बेलायत र फ्रान्समा झैं जर्मनीमा काल्पनिक समाजवादीहरूको विचारधाराको कुनै प्रभाव पहिलेदेखि विद्यमान थिएन ।

जर्मनीवालाहरू सिद्धान्त रचना गर्ने कार्यमा अरूभन्दा अलि बेसी नै कुशल छन् । विगतका अनुभवबाट सिकेर जर्मनीवालाहरूले केही निर्णय गरे ।

तपाईंलाई थाहा छ होला– युरोपका अरू देशको तुलनामा यो पुँजीवादी व्यवस्था जर्मनीका लागि धेरै नै नयाँ हो । जब मजदुरले समाजवादी विचार अंगीकार गरे तब बेलायत र फ्रान्समा पुराना भइसकेका प्रश्न जर्मनीमा नयाँनयाँ रूपमा उठ्न थाले ।

अनि ती देशमा उत्पन्न भएका राजनीतिक प्रभावको असर जर्मनीका मजदुरको जीवनमाथि पनि पर्‍यो । त्यसैले आधुनिक औद्योगिक विकासको शुरुआतसँगै त्यहाँका मजदुरले आफ्नै स्वतन्त्र राजनीतिक पार्टी बनाए ।

जर्मनीको संसद्मा उनीहरूका आफ्नै प्रतिनिधि थिए । सरकारका नीतिहरूको विरोध गर्ने अर्को कुनै दल थिएन, त्यसैले त्यो जिम्मेवारी पनि मजदुरहरूकै प्रतिनिधिको काँधमाथि आइपरेको थियो ।

यस पार्टीको रूपरेखाबारे बताउन धेरै समय लाग्नेछ तर यतिचाहिँ भन्न सक्छु– जर्मनीको मध्यमवर्गमा घनघोर कायरता नभएको भए, उनीहरू बेलायत र अमेरिकाको मध्यमवर्गको समान भएका भए सरकारविरुद्ध गर्नुपर्ने सबै राजनीतिक काम उनीहरूले नै गर्नुपर्थ्याे ।

संवाददाता : इन्टरनेसनलवादीहरूबीच लासालवादीहरूको संख्या कति होला ?

मार्क्स : लासालको कुनै पार्टी छैन । हाम्रो संगठनमा लासालको सिद्धान्तमाथि विश्वास गर्ने केही मानिस छन् तर उनीहरूको संख्या धेरै कम छ । लासाललाई हाम्रा सामान्य सिद्धान्तहरूको अनुमान थियो ।

त्यसैले उनले सन् १८४८ का घटनापछि जगैदेखि आफ्ना गतिविधि सुरु गर्दा कल्पना गरेका थिए– औद्योगिक प्रतिष्ठानहरूमा मजदुरहरूको सहयोगको वकालत गरेर आफ्नो आन्दोलनलाई फेरि एकपटक धेरै सफलतापूर्वक चलाउन सकिनेछ ।

योचाहिँ मजदुरहरूलाई फेरि सक्रिय पार्ने उनको कोसिस थियो । यसलाई उनी आन्दोलनको वास्तविक उद्देश्य पूरा गर्ने साधन नै सम्झन्थे । उनको यस्तो आशयको चिठी मसँग छ ।

संवाददाता : तपाईं यसलाई उनको रामवाण भन्न चाहनुहुन्छ ?

मार्क्स : निश्चित रूपले । उनले बिस्मार्कसँग भेटे, आफ्नो योजनाबारे उनीसँग चर्चा गरे । अनि बिस्मार्कले त्यस बेला हरतरहले लासालका गतिविधिलाई बढावा दिए ।

संवाददाता : यस्तो गर्नुका पछाडि बिस्मार्कको उद्देश्य के थियो ?

मार्क्स : उनी १८४८ को विद्रोह भड्काउने मध्यमवर्गविरुद्ध मजदुरवर्गलाई प्रयोग गर्न चाहन्थे ।

संवाददाता : भनिन्छ कि तपाईं समाजवादका अध्यक्ष र नेता हुनुहुन्छ । तपाईं यहाँबाट, आफ्नो घरबाट आजभोलिका सबै प्रकारका संगठन र क्रान्ति सञ्चालन गर्नुहुन्छ । यससम्बन्धमा केही भन्न चाहनुहुन्छ कि ?

मार्क्स : (हलुका मुस्कानसहित) मलाई यससम्बन्धमा जानकारी छ । मलाई लाग्छ– यो एकदम अर्थहीन कुरा हो तर यसमा एउटा मनोरञ्जक पक्ष पनि छ ।

होदेतको प्रयासभन्दा दुई महिनाअगाडि बिस्मार्कले आफ्नो पत्रिका ‘नर्थ जर्मन गजेट’ मा मेरा विरुद्ध गुनासो गरेका थिए– मैले जेसुइट

आन्दोलनका नेता फादर बैंकसँग मिलिभगत गरिरहेको छु । अनि हामी दुवैले मिलेर समाजवादी आन्दोलनलाई यस्तो रूप दिइरहेका हौं ताकि बिस्मार्कले यो आन्दोलनसँग कुनै सम्बन्ध राख्न नसकून् ।

संवाददाता : तर लन्डनबाट तपाईंको अन्तर्राष्ट्रिय समाजले आन्दोलन त सञ्चालन गरिरहेकै छ नि ?

मार्क्स : अन्तर्राष्ट्रिय समाजको उपयोगिता अब समाप्त भइसकेको छ र अब त्यसको कुनै अस्तित्व छैन । पहिले त्यसको अस्तित्व थियो र त्यसको माध्यमबाट आन्दोलन सञ्चालन पनि हुन्थ्यो ।

तर, हालका केही वर्षमा समाजवादको विकास यति धेरै भइसकेको छ कि अब इन्टरनेसनलको कुनै जरुरत रहेन । अहिले विभिन्न देशमा अखबार प्रकाशित भइरहेका छन् ।

तिनीहरूबीच आदान–प्रदान पनि भइरहेको छ । विभिन्न देशमा काम गरिरहेका पार्टीबीच सम्बन्धको यही नै एकमात्र माध्यम हो । अन्तर्राष्ट्रिय समाजको स्थापना केका लागि गरिएको थियो भने मजदुरलाई संगठित गर्न सकियोस् र विभिन्न राष्ट्रका मजदुरका संगठनमा आपसी एकता

कायम गर्न सकियोस् । हरेक देशका मजदुर संगठनको आ–आफ्नै खालका हितहरू छन् जुन अरूसँग भिन्न छन् । त्यसैले लन्डनमा बसिरहेका इन्टरनेसनलका नेताहरूको कालो छायाँ हरेक ठाउँमा घुम्न थालेको कुरा मनगढन्ते छ ।

के सत्य हो भने जब इन्टरनेसनलको स्थापना भएको थियो तब हामी विदेशी संगठनलाई सल्लाह दिन्थ्यौं । हामी न्युयोर्कका केही समूहलाई इन्टरनेसनलबाट अलग्याउन पनि विवश भएका थियौं ।

तीमध्ये म्याडम वुडहलको प्रभाव भएको एउटा गुट पनि थियो । यो सन् १८७१ को कुरा हो । त्यस्ता अमेरिकी राजनीतिज्ञ धेरै छन् जो त्यस

आन्दोलनबाट लाभ उठाउन चाहन्छन् । म उनीहरूको नाम लिन चाहन्नँ । तर अमेरिकी समाजवादीहरू उनीहरूलाई राम्ररी नै चिन्दछन् ।

संवाददाता : डा. मार्क्स ! के पनि भनिन्छ भने तपाईंका अनुयायीका साथै तपाईंले धर्मका विरुद्ध आगो ओकल्ने खालको भाषण दिनुभएको छ । निश्चय नै तपाईं चाहनुहुन्छ– वर्तमान व्यवस्था सम्पूर्ण रूपमा बर्बाद होस् ?

मार्क्स : (एकै क्षण रोकिएर) हामीलाई थाहा छ– धर्मका विरुद्ध हिंसात्मक कारबाही गर्नु निरर्थक छ । समाजवादको विकाससँगै धर्म गायब हुँदै जानेछ । धर्मको लोप सामाजिक विकासको कारणले हुनुपर्दछ । र, यसमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।

संवाददाता : तपाईं बोस्टनका पादरी कुकलाई चिन्नुहुन्छ ?

मार्क्स : मैले उनका बारेमा केही सुनेको छु । समाजवादका सम्बन्धमा उनको जानकारी धेरै नै गलत किसिमको छ । हालैको आफ्नो भाषणमा उनले भनेका थिए– ‘डा मार्क्स भन्छन्, अमेरिका, ग्रेट ब्रिटेन र सायद फ्रान्समा विनारक्तरञ्जित क्रान्ति मजदुरहरूको दशामा सुधार हुनेछ ।

तर, जर्मनी, इटली, रूस र अस्ट्रियामा अवश्य रक्तपात हुनेछ ।’ (मार्क्स मुस्कुराउँदै) कुनै पनि समाजले के कुरा घोषणा गर्नु जरुरी छैन भने

रूस, जर्मनी, अस्ट्रिया विशेष गरी इटलीमा वर्तमान सरकारी नीतिहरू चलिरहे रक्तरञ्जित क्रान्ति अनिवार्य हुनेछ, फ्रान्सिसी क्रान्तिका घटना ती देशमा दोहोर्‍याइनेछन् ।

यो त राजनीतिका कुनै पनि विद्यार्थीले बुझ्न सक्छ । तर, क्रान्तिहरू बहुमतद्वारा हुनेछन् । क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन, बरु सिंगो राष्ट्रले क्रान्ति गर्दछ ।

संवाददाता : ती आदरणीय व्यक्तिले १८७१ मा पेरिसका कम्युनिस्टलाई लेखिएको एउटा पत्रको अंश उल्लेख गरेका छन् । त्यसमा तपाईंले लेख्नुभएको छ– ‘अहिले हामी केवल ३० लाख छौं, आउँदो २० वर्षमा ५ करोड वा १० करोड हुनेछौं, तब संसार हाम्रो हुनेछ, किनकि तब पेरिस, लियोन्स, मारसेलिजमा मात्रै घृणित पुँजीका विरुद्ध विद्रोह हुने होइन, बरु बर्लिन, म्युनिख, ड्रेसडेन, लन्डन, लिभरपुल, म्यानचेस्टर, ब्रसेल्स, सेन्ट पिटर्सबर्ग, न्युयोर्क अर्थात् सम्पूर्ण संसारमा त्यस्ता विद्रोह हुनेछन् । अहिलेसम्मको इतिहासको यस अभूतपूर्व विद्रोहको सामुन्ने अतीत भयानक नराम्रो सपना जस्तै गायब हुनेछ किनकि अनेक ठाउँमा एकैचोटि लगाइएको यो आगोले अतीतको आगोलाई भष्म गर्नेछ ।’ डा. मार्क्स ! के यहाँले यस्तो पत्र लेख्नुभएको साँचो हो ?

मार्क्स : यसको एउटा शब्द पनि मैले लेखेको होइन । म यस्तो अति नाटकीयताले भरिएका अनर्गल प्रलापहरू कहिले पनि लेख्दिनँ । जे जति लेख्छु अति नै सोचविचार गरेर लेख्छु ।

त्यस बेला यो पत्र ‘ल फिगरो’ (फ्रान्सको एउटा अखबार) मा मेरो जाली हस्ताक्षरका साथ छापिएको थियो । त्यस बेला यस्ता सयौं पत्र हावामा उडाइएका थिए ।

मैले त्यस बेला ‘लन्डन टाइम्स’मा लेखेको थिएँ– ‘यी पत्रहरू जाली हुन् ।’ मेरा बारेमा जति धेरै झूटो प्रचार गरियो र असत्य लेखियो, मैले ती सबै झूटको खण्डन गरिरहेँ भने त्यसका लागि मलाई बीस जना सहायकको जरुरत हुनेछ ।

संवाददाता : तपाईंले पेरिसका कम्युनिस्टको समर्थनमा लेख्नु त भएको थियो नै, होइन र ?

मार्क्स : हो । मैले पत्र लेखेको थिएँ । (बिस्तृत जानकारीका लागि माक्र्सको प्रसिद्ध किताब ‘फ्रान्समा गृहयुद्ध’ पढ्नुहोला) खास गरी उनीहरूका बारेमा प्रमुख अखबारका मुख्य लेखहरूमा जुन झूट लेखिएको थियो, त्यसको तुलनामा मैले उनीहरूप्रति सहानुभूतिसहित केही लेखेको थिएँ ।

ती अखबारका सम्पादकीय लेखहरूमा पेरिस कम्युनका बारेमा जुन झूटो प्रचार गरिएको थियो, त्यसको खण्डनका लागि अंग्रेजी अखबारहरूमा छापिएका पेरिसबासीका पत्र नै काफी छन् ।

कम्युनका कारणले करिब ६० जनाको मृत्यु भएको थियो जबकि मार्सल मेकमोहन र त्यसको हत्यारा सेनाले ६० हजारभन्दा बेसी मानिसको हत्या गर्‍यो । कम्युनमाथि जति हिलो छ्यापियो, त्यति त आजसम्म कुनै पनि अरू आन्दोलनमाथि छ्यापिएको छैन ।

संवाददाता : जे होस्, के समाजवाद ल्याउन समाजवादीहरू हत्या र रक्तपातको वकालत गर्छन् ?

मार्क्स : आजसम्म कुनै पनि महान् आन्दोलन विनारक्तपात सुरु भएको छैन । अमेरिकाको स्वतन्त्रताका लागि रगत बग्यो । नेपोलियनले रक्तपातकै माध्यमबाट फ्रान्समाथि कब्जा गरे र त्यसरी नै उनको अन्त्य भयो ।

इटली, बेलायत, जर्मनी र यहाँसम्म कि हरेक देशमा यस कुराको सबुत–प्रमाण फेला पर्नेछन् । हत्याकै बारेमा विचार गर्ने हो भने पनि यो कुनै नयाँ चीज होइन ।

ओर्सिनीले नेपोलियनको हत्या गर्ने प्रयास गरे, इसाईहरूले हत्या गरे, क्रामबेलको जमानामा प्युरिटनहरूले हत्या गरे । र वास्तविकता के हो भने राजाहरूले जति हत्या गरे, त्यति त अरू कसैले पनि गरेका छैनन् ।

यी सबै हत्या वा हत्याका प्रयास समाजवाद आउनुभन्दा अगावै भएका हुन् । आज कसैले पनि राजकीय वा सरकारी व्यक्तिको हत्याको प्रयास गरे त्यसको जिम्मेवारी समाजवादको टाउकोमा थोपरिदिने चलन बढेको छ ।

वर्तमान स्थितिमा जर्मन सम्राटको मृत्युबाट समाजवादीहरू धेरै नै दुःखी हुनेछन् । आफ्नो ठाउँमा उनी निकै उपयोगी व्यक्ति हुन् । अन्य राजनीतिज्ञको तुलनामा बिस्मार्क आफ्ना अतिवादी कारबाहीका कारणले हाम्रा उद्देश्यका लागि धेरै नै उपयोगी साबित भएका छन् ।

संवाददाता : बिस्मार्कका बारेमा तपाईंको मूल्यांकन कस्तो छ ?

मार्क्स : जबसम्म नेपोलियनको पतन भएको थिएन तबसम्म उनी एउटा प्रतिक्रियावादी व्यक्ति मानिन्थे । तर, जब नेपोलियनको पतन भयो, मानिसहरू उनलाई मूर्ख भन्न थाले ।

बिस्मार्कको पनि त्यही दशा हुनेछ । उनले एकीकरणको निहुँमा तानाशाहीको स्थापना गरे तर अहिले उनका काला कर्तुतहरूको रहस्य मानिसलाई थाहा भइसकेको छ ।

उनको पछिल्लो चाल राज्य–विप्लव गर्ने एउटा प्रयास थियो । तर, त्यो पनि असफल हुनेछ । फ्रान्सका समाजवादीले जस्तै जर्मनीका समाजवादीले पनि १८७० को युद्धलाई दुई राजवंशहरूको कोरा युद्ध सम्झेर त्यसको विरोध गरे ।

उनीहरूले जर्मनीलाई सावधान गर्दै आफ्नो घोषणापत्रमा भने– जनताले यस तथाकथित सुरक्षात्मक लडाइँलाई विजय–अभियानको रूप लिन दिएमा उनीहरू सैनिक तानाशाहीको दमनको सिकार हुनेछन् ।

र, किसान–मजदुरहरूमाथि निर्मम अत्याचार हुनेछ । फ्रान्ससँग सम्मानजनक शान्तिको समर्थनमा सभाहरू गर्ने र घोषणापत्र निकाल्ने काम गरेबापत जर्मनीका सोसल डेमोक्रेटिक पार्टीमाथि जर्मन सरकारले दमन गर्‍यो र पार्टीका अनेक नेताहरूलाई कैद गर्‍यो ।

फेरि पनि त्यही पार्टीका प्रतिनिधिले नै जर्मन संसद्मा फ्रान्सका प्रान्तहरू जबर्जस्ती हडपेर जर्मनीमा मिलाएकोमा जोडदार विरोध गरिरहेका छन् ।

बिस्मार्कले शक्ति प्रयोग गरेर आफ्ना नीति लागू गरे । अनि मानिसले उनको बुद्धिको तारिफ गरे । लडाइँ भयो । अनि जब बिस्मार्कको विजयका सम्भावना समाप्त भए तब मात्र मानिसहरूले उनीबाट नयाँ विचारको आशा गरे ।

तर, यस काममा उनी नराम्ररी असफल भए । उनीमाथिको विश्वास कम हुन थाल्यो । लोकप्रियता घट्न थाल्यो । उनलाई धन चाहिएको छ र राज्यलाई पनि धनको जरुरत छ ।

त्यसैले एउटा बनावटी संविधानको निहुँमा उनले एकीकरण र सेनासम्बन्धी आफ्ना योजनाका लागि जनतामाथि कम्मरै भाँच्ने खालको कर लगाए ।

अनि अहिले उनी संविधानलाई नै रद्दीको टोकरीमा फ्याँकेर जनतामाथि अरू बेसी कर लगाउन चाहन्छन् । जनतामाथि मनपरी ढंगले कर लगाउनका लागि अब उनले समाजवादको हौवा खडा गरिरहेका छन् र दंगा–फसादको स्थिति सिर्जना गर्न सकभर प्रयास गरिरहेका छन् ।

संवाददाता : के तपाईंलाई बर्लिनबाट लगातार सूचना प्राप्त भइरहेको छ ?

मार्क्स : हो । मेरा साथीहरूले मलाई बराबर सूचना पठाइरहेका छन् । जर्मनी आजभोलि पूरै शान्त छ र यसले गर्दा बिस्मार्क पूरै दुःखी भएका छन् ।

उनले हेसेलमन, राकोब र वामन आदि ४८ जना युवा नेतालाई जर्मनीबाट निष्कासित गरेका छन् । (बाबेलको आत्मकथाअनुसार ६१ जना नेतालाई देश–निकालाको सजाय दिइएको थियो ।

उनीहरूमध्ये अधिकांशले ४८ घण्टाभित्र जर्मनी छोड्नुपर्‍यो । यस्तो लाग्छ– संवाददाताले ४८ घण्टाको समयलाई निष्कासितहरूको संख्या ठान्न पुगे ।– अनु) ती नेताहरूले त्यस बेला जर्मनीका मजदुरहरूलाई शान्त पारिराखेका थिए ।

बिस्मार्कलाई यो कुरा थाहा थियो । उनलाई के पनि थाहा थियो भने त्यस बेला सहरमा करिब ७५ हजार मजदुर भोकमरीको सिकार भइरहेका थिए ।

उनको अनुमान थियो– ती नेताहरू जर्मनीबाट बाहिर जानासाथ जनता बेचैन भएर विद्रोह गर्न थाल्नेछन् र आफूलाई रगतको होली खेल्ने सुवर्ण अवसर प्राप्त हुनेछ ।

सिंगो जर्मन साम्राज्यमा दमन–चक्र तीव्रतापूर्वक चल्नेछ र उनलाई आफ्नो ‘रक्तपात तथा दमन–चक्र’को प्रिय सिद्धान्तलाई सम्पूर्ण रूपमा व्यवहारमा लागु गर्ने मौका प्राप्त हुनेछ ।

त्यसपछि त जनतामाथि मनपरी ढंगले कर लगाउन पनि सजिलो हुनेछ । तर, अहिलेसम्म त्यहाँ कुनै दंगा–फसाद भएको छैन । बिस्मार्क यस्तो स्थिति देखेर हैरान भइरहेका छन् । र, सबै राजनीतिज्ञ उनलाई हास्यपात्र बनाएर उडाइरहेका छन् ।

( १८७९ जुन ९ को अमेरिकी रिपब्लिकनहरूको अखबार  ‘सिकागो ट्रिब्युन’मा प्रकाशित )