स्वार्थी मान्छे !

-


     कालिका दर्शन     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


मनिसको सबै भन्दा ठुलो चरित्र भनेको नै अति स्वार्थी हुनु हो । एक जना मानिस बाटोमा कतै गइरहेको थियो । विपरीत दिशाबाट बाघ दौडिएर आयो । त्यो मान्छे हत्तपत्त छेउमा भएको  रुखको लत्रिएको हाँगालाई समातेर रुख माथि गयो । तर रुखको केही माथि एउटा अजंगको भालु बसिरहेको रहेछ ।

अब बाघ भालुलाई भन्छ -‘ हेर भालु भाइ यो स्वार्थी मान्छे मेरो सिकार हो, यसलाई १ लात्ति दिएर तल झार, म यसलाई रगत चुसेर यसको मुटु कलेजो खाएर अघाएर अन्तै जान्छु । बाँकी रहेको मासु छाला आदी तिमी पनि खाउ । ठुलै सइतले आज मान्छे खान पाइयो हा… हा… हा… ।’

बाघको यति कुरा सुनेपछि भालु भन्छ -‘हेर्नोस बाघ दाज्यू , यो रुख मेरो घर हो । मेरो घरमा शरण माग्न आउने कसैलाई पनि म मरण गर्दिन । मेरा घरमा आउने सबै मेरा आदरणीय पाउनाहरु हुन । बरु हजुर अन्तै गएर अरु नै प्राणीलाई भोजन बनाउनु होस ।’

अब बाघ भन्छ -‘हैन यस्तो स्वार्थीलाई तिमी पाहुना मान्ने कुन संसारको भालु हौ । हेर भालु भाई, यस मान्छेले मौका पर्नसाथ धोका दिन थाली  हाल्छ ।’

भालु भन्छ – ‘मान्छेको असल गुण भनेकै धोका छलकपड जालझेल आदी त हो नी । ल, बाघ दाज्यू अब म चाहिं माथिल्लो हाँगामा गएर सुत्छु । हजुर पनि अन्तै गएर ज्यूनार लिइ बक्सियोस है ।’

 
यति भनेर भालु हाँगामा मस्तिसंग निदायो ।   

अब बाघले मान्छेलाई भन्छ – ‘हेर मान्छे , म त यसै भोकाएको छु उसै भोकाएको छु । मलाई त जेको भए पनि रगत र मासु चाहिएको मात्र हो । तिमी पनि कतै हिडेका हौला । म पनि भोकाई सके । तसर्थ त्यो सुति रहेको भालुलाई गएर कस्सेर एक लात्ति हानि देऊ । भालु भुइमा झर्छ । झर्न साथ म पक्रिएर रगत चुसी हाल्छु , अनि मासु खान्छु, अघाएर अन्तै जान्छु , त्यसपछि तिमी पनि रुखबाट जमिनमा आएर भालुको छाला पनि लैजानु र कहाँ हिडेका हौ त्यहि जानु , हुदैन त मित्र ?’  बाघको यो सल्लाह मान्छेलाई सारै मन  पर्यो  , घत लाग्यो । नभन्दै ऊ भालु सुतिरहेको हाँगामा गयो । उसले मस्त निदाएको भालुलाई कस्सेर एक लाति हान्यो । नभन्दै भालु तल झर्यो  । तर संजोगवस त्यो भालुले अगाडी मान्छेले समातेको लत्रिएको हाँगा पक्रिन भ्याएछ र भालु पुन: रुखमा चढ्न सफल भयो ।

यो घटना पछि बाघ भन्छ-‘ हेर भालु भाइ म त तलाइ नै सिकार बनाउने पक्षामा थिए । धन्न बाँचिस । अब त त्यो अपराधि र बैगुनी मान्छेलाई तल झारी दिन्छस , होला नी !  थाहा पाइस हैन त मान्छेलाई लगाएको गुन कसरी तिर्छन भनेर ।’

यति सुनि सके पछि रुखमा माथि उक्लदै गरेको भालु भन्छ-‘ हो बाघ दाज्यू , झण्डै म नै हजुरको आज चौरासी   व्यञ्जन भएको थिए । यसका लागि धन्यवाद । तर पनि म यो मेरो अतिथीलाई कुनै हालतमा पनि रुखबाट झारेर हजुरलाई खान दिन्न, किनभने संसारका सबै प्राणी र बनस्पतिका आआफ्नै गुण र स्वाभावहरु हुन्छन । यसमा पनि अति नै स्वार्थी हुनु, अरुलाई बारम्बार धोका दिनु , अरुको कुभलो मात्र सोच्नु, अरुलाई हानी पुग्ने काम मात्र गर्नु , अरुको आँसुमा आफू हाँस्नु, दुनियाँलाई छक्क्याउनु अरुको बेइज्जत गर्दै  हिड्नु, कहिल्यै सबै साँचो कुरा नबोल्नु , अरुलाई दास बनाउन पाउँदा रमाउनु आदि गुण भएको जन्तुलाई मानिस भनिन्छ ।  र यस रुखमा आएको जिवले पनि यस्तै ज्यानै जाने सम्मका धोकाधडी आदी गरेकोले यो चाहि साच्चैको मान्छे जाति नै हो भन्ने प्रमाणित भयो । यस जिवले गरेका व्यावहारहरु नै मान्छेले गर्ने सामान्य क्रियाकलापहरु मात्र हुन । अरुको गुण र स्वाभावबाट आफुलाई सुरक्षित राख्नु पर्छ बाघ दाज्यू । जे होस आज मेरो घरमा मान्छे पनि पाउना आउनु भएछ । अब म उहँलाई  स्वागत गर्छु ।’ भनेर भालु रुखमा माथि उकलन्दै गयो ।

यस कथाबाट हामीले मान्छेको चरित्र थाहा पाउने र उसैको चरित्र अनुसारको वइवहार गर्ने भन्ने हो । आफ्नै शत्रुलाई पनि रामे व्यवहारले पगाल्न सकिन्छ भन्ने पनि हो । मानिसको चरित्र ने स्वार्थी छ । हामी मानिस प्राणीजत्तैकै इमानदार भएको भए संसार कति सुन्दर हुन्थ्यो होला ।