भगवान श्रीकृष्णको हत्या भएकै हो ?

-


     कालिका दर्शन     
     कार्तिक २९ गते २०७८ मा प्रकाशित


महाभारतको युद्ध पश्चात् भगवान कृष्णले द्वापरयुगमा पापीहरूको अन्त्य गरेका थिए । जतिबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रुपमा अवतरित भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ ।

यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असंख्यको रुपमा वृद्धि भएको याद्वपकुल देखेर यसलाई पनि नास गराउने उनको इच्छा थियो । महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता गान्धारीले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् ।

गान्धीरीको श्रापको प्रभाव र भगवान कृष्णको इच्छा भएकोले एक दिन याद्वपहरू जंगलमा सिकार गर्न गएको बेला दुर्बाशा ऋषिको आश्रममा पुगे । गान्धारीको श्राप र कृष्णको इच्छाका कारण धर्मात्मा याद्वपहरूको बुद्धि भ्रष्ट भएको थियो । त्यसैले उनीहरूले दुर्वाशा ऋषिको तपस्याको परीक्षा लिने विचार गरे ।

याद्वपहरूले कृष्णका छोरा शाम्बलाई महिलाको पहिरन गराएर दुर्बाशा ऋषिको अगाडि गएर यी महिला गर्भवती छन् यिनको गर्भबाट छोरा जन्मन्छ की छोरी जन्मिन्छे भनेर सोधे । दुर्बाशा ऋषि स्वभावमा निकै रिसालु थिए ।

याद्वपहरूले यसरी आफ्नो अपमान गर्न खोजेका थाहा पाएर उनले यी महिलाको गर्भबाट याद्वपकुलको नाश गर्ने एक मुशल पैदा हुनेछ भने । नभन्दै शाम्बको कपडा खोलेर हेर्दा त्यसबाट एक फलामको मुशल निस्कियो ।

यो देखेर याद्वपहरू निकै डराएर घर फर्के । जंगलमा भएको सबै घटना सुनेपछि कृष्णले मुशल ढुङ्गामा घिसेर त्यसको धुलो समुद्रमा फाल्न लगाए । याद्वपहरूले मुशललाई ढुङ्गामा रगड्दै धुलो समुद्रमा बगाउँदै गरे ।

अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । याद्वपहरूले त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए । मुशलको धुलो समुद्रमा बगाएकोले समुद्रको किनारा भरी धारिलो पात भएको झार उम्रियो ।

मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर जरा नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई जरा नामको त्यो व्याधाले वाण बनायो ।

यसै क्रममा एक दिन याद्वपहरूले समुद्रमा स्नान गर्ने र दान गर्ने निर्णय गरे । महिला र बालकहरूलाई घरैमा छोडेर सबै याद्वपहरू समुद्र किनारामा जम्मा भए । स्नान दान पछि याद्वपहरूमा कुनै अनर्थको कुरामा विवाद हुन थाल्यो ।

यसरी विवाद बढ्दै जाँदा उनीहरू आपसमा लड्न थाले । लड्दा लड्दै उनीहरूका हतियार भाँचिए । हतियार नभएकोले उनीहरूले मुशलको धुलोबाट उम्रेको झार उखेल्दै एक अर्कालाई हान्न थाले । जसलाई त्यो झारको चोट लाग्थ्यो त्यो तुरुन्त मर्थ्यो ।

यसरी आपसमा लडेर सबै याद्वपहरू सिद्धिए । याद्वपकुलको नास भयो भन्ने खुसीले कृष्ण एक पिपलको छायाँमा विश्राम गर्न थाले । जरा नामको व्याधाले टाढैबाट कृष्णको खुट्टा देख्यो । व्याधाले मृगको टाउको सोचेर कृष्णको खुट्टामा वाण प्रहार गर्यो । त्यो वाण माछाको पेटमा भेटिएको मुशलको टुक्राबाट बनेको हुनाले कृष्णको मृत्यु त्यसै वाणबाट भयो ।

यसरी भगवान कृष्णले मानव देह त्याग गरेर चतुर्बाहुको रुप धरेर बसे । जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो वाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो ।

यो देखेर कृष्णले जरालाई ‘म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तै पनि तँहिले मलाई रावणसँगको युद्धमा धेरै सघाइस् । रावणको मृत्यु पश्चात मैले तँलाई इच्छा अनुसारको वर माग्न भनेपछि तँहिले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो वाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन’ भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे ।

महाभारतमा श्रीकृष्ण एक महापुरुषको रुपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई मुसल पर्वमा बडो सुन्दर रुपमा व्याख्या गरिएको छ । यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भएपछि उनी दुःखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहाँ एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झुक्किएर हत्या गरिदियो ।

महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासाप्रति स्वयं कृष्णका सबैभन्दा प्रिय पुत्रहरूमध्ये एक शाम्बले गरेको दुर्व्यवहार स्वरुप यो घटना भएको हो । यसरी १ सय २० वर्षको उमेरमा श्रीकृष्ण देहान्त भएको थियो ।