एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो: प्रचण्ड

-


     कालिका दर्शन     
     पौष १३ गते २०७८ मा प्रकाशित


आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरूले टाउको उठाइरहेका छन् ।

विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेका छन् ।

निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरंकुश प्रवृति र तत्वहरूकाविरुद्ध संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको छ । नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको छ ।

वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तत्कालीक र कार्यनैतिक रूपमा देशी विदेशी प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी शक्तिहरूको योजना सेटिङ असफल भएको छ । तर, रणनैतिक रूपमा प्रतिक्रान्तिकारीहरू षडयन्त्रका नयाँ नयाँ तानाबाना बुन्ने षडयन्त्र भने रोकिएको छैन ।

वस्तुतः यो स्थिति नेपाली समाजमा विद्यमान वर्गसंघर्ष कै राजनीतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्वहरू दलाल, नोकरशाही, पुँजीपतिहरू र तिनका पृष्ठपोषक राजनीतिक दलहरू एकातिर एवं मजदूर किसानदेखि राष्ट्रिय पूँजीपति समूह तथा परिवर्तनका पक्षधर राजनीतिक दलहरू, उत्पीडित जाती, समूदायदेखि देशक्त बुद्धिजिवीसम्म अर्कोतिर ध्रुवीकृत भएर संघर्ष चलिरहेको सजिलै देख्न सकिन्छ । यो ऐतिहासिक रूपले अनिवार्य संघर्षमा विजयका लागि वाम लोकतान्त्रिक शक्तिले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु आफ्नो राजनीतिक मुद्दालाई दृढताका साथ जनसमूदायमा स्थापित गर्नु तथा आफ्ना आचरणलाई जनहित बनाउन अझ जोड गर्नुको विकल्प छैन ।

यस सन्दर्भमा हामी स्पष्ट हुनुपर्दछ कि महान जनयुद्ध र ऐतिहासिक संयुक्त जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली, धर्मनिरपेक्षता सहितको प्रमुख वाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ ।

केही वर्षदेखि स्वयं हाम्रो पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेका छैनौं । यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूको प्रमुख र ठूलो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो । हामीले यसलाई राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय आयामबाट समेत हेर्नुपर्दछ । भुमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै हामीले पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिन्छ ।

विकासको वर्तमान राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारा र राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती हाम्रो अगाडि छ । विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको स्पष्ट रुपरेखा खिच्न सकिन्छ ।

हाम्रो आठौं राष्ट्रिय महाधिवेशनले आफ्नो ध्यान मुख्यरुपमा विचार संश्लेषण र ऐतिहासिक कार्यभार पुरा गर्ने कुरामा लिनेछ । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, ऐतिहासिक मधेस आन्दोलन लगायत सम्पूर्ण उत्पीडित समुदायका आन्दोलनहरूका अमर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता एवम् घाइते योद्धा र उहाँहरूका परिवारहरूप्रति हार्दिक सम्मान प्रकट गर्दै यो आठौं राष्ट्रिय महाधिवेशन सहिदहरूको सपना पूरा गर्ने दिशामा निरन्तर अघि बढ्ने प्रतिज्ञा गर्दछ ।

वर्तमान परिस्थितिको समीक्षा
क) अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा
शिकार गर्नका लागि ढुंगाका हतियारको आविष्कारबाट सुरु भएको श्रमशक्ति र उत्पादन उपकरणको प्रक्रिया आगोको आविष्कार हुँदै आज स्याटेलाइट र डिजिटल सूचनाको युगसम्म आइपुगेको छ । मानव जातिको इतिहासलाई यसरी उत्पादन शक्ति र आपसी मानवीय सम्बन्धको विकासक्रमसँग जोडेर हेर्ने कुरा नै ऐतिहासिक भौतिकवादको वैज्ञानिक सारतत्व हो । वस्तुतः आदिम साम्यवाददेखि सामन्तवादी र पूँजीवादी युगसम्मको यात्रा, यात्रामात्रै होइन, समाजवाद र साम्यवादसम्मको यात्राको आंकलन पनि यसै ऐतिहासिक भौतिकवादी विज्ञानको आधारमा गरिएको हो ।

आज मानव समाज साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगबाट श्रम र पूँजीविहीन समाजवाद र पूँजीवादका बीच, साम्राज्यवादी गुटहरूको बीच तथा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीचको आधारभूत अन्तरविरोध अहिले पनि कायम नै छन् ।

कमरेड स्टालिनको अवसनपछि लुकेर बसेका अवसरवादीहरूले समाजवाद र कम्युनिष्ट पार्टीलाई आवरणको रुपमा प्रयोग गरेर पुँजीवादी प्रतिक्रान्तिको अभ्यास सुरु गरे । रुसमा देखिएको प्रतिक्रान्तिको अनुभवसमेत गहिरो अध्ययन गरी माओले समाजवादी चरणमा वर्ग संघर्षको स्थितिबारे गम्भीर विश्लेषण गर्नुभयो ।

रुसमा पुँजीवाद पुनर्स्थापनासँगै आफ्नै पार्टीभित्र देखापरेको गलत विचार र प्रवृत्तिविरुद्ध संघर्ष समेतको संष्लेषण गर्दै समाजवादमा वर्ग संघर्ष र क्रान्तिको निरन्तरता सम्बन्धी महत्वपूर्ण संस्थापनाहरू अघि सार्नु भयो । यसरी कमरेड माओको योगदानकै कारण मार्क्सवाद, लेनिनवाद माओवादमा विकसित हुन पुग्यो । उपरोक्त ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भने अहम प्रश्न रहेको छ ।

मार्क्सवादको सैद्धान्तिक दिशानिर्देशनमा भूमण्डलीकृत वित्तीय पुँजीवादका विशेषताहरू, विज्ञान र प्रविधिको मुख्यतः सूचनाप्रविधिमा भएको प्रगति, उत्पादक शक्ति र उत्पादन सम्बन्धको विकासमा परेको प्रभावसमेतको वस्तुवादी विश्लेषणको आधारमा आजका कम्युनिस्ट क्रान्तिकारीहरूले नयाँ चरणमा समाजवादी क्रान्तिका लागि नयाँ विचारको विकास, परिमार्जन अनिवार्य बन्न गएको छ । हामी ऐतिहासिक रूपमा नयाँ चरणमा आइपुगेका छौं । हामीलाई नयाँ विचार चाहिएको छ र समाजवादी क्रान्तिको नयाँ मोडल चाहिएको छ ।

अर्को भाष्यमा प्रतिक्रान्तिको अनुभवसहित मार्क्सवादको सिर्जनात्मक विकास र परिमार्जन अनिवार्य बन्न गएको छ । प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवादको चरणमा देश र वित्तीय स‌ंस्थाहरूको भूमिका उत्पादनका निम्ती पुँजी लगानी गर्ने सहयोगी संस्थाहरूको रुपमा रहेका थिए । तर आजको भूमण्डलीकृत वित्तीय पुँजीवादको चरणमा देश र वित्तीय संस्थाहरूको भूमिका परिवर्तन आएको छ । पुँजीपतिहरूको हातमा केन्द्रीकृत भएको अत्याधिक पुँजीलाई उत्पादनको क्षेत्रमा भन्दा मुख्यत वित्तीय क्षेत्रमा लगानी गरी छिटो समयमा अत्याधिक मुनाफा लिनु नै वित्तीय पुँजीवादको विशेषता हो ।

उत्पादनको क्षेत्रमा लागनी गर्न नाफा कमाउने पहिलेको मुद्रा, माल र फेरि मुद्रा थियो । त्यो मुद्रा, माल र मुद्राको अवस्थामा अब मुद्रा लगानी गरेर मुद्रा नै कमाउने प्रक्रियाले निकै बढेको छ । दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायत पहिले सुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने सुरु प्रक्रिया आज विश्वका सबै धनी देशहरूको आमचरित्र बनेको छ । उत्पादनमुलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुदा समाजमा वेरोजगारीका साथै विभिन्न प्रकारको संकटहरू उत्पन्न गराएको छ ।

वित्त क्षेत्रमा पुँजीको पलायन हुनुको मुख्यकारण पुँजीपतिको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो । उत्पादनको क्षेत्रमा लगानी गर्दा समय धेरै लामो लाग्ने, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदूर आन्दोलनको सामना गर्नुपर्ने, नाफा चाँही कम आउने कारणले नै पुँजीपतिहरूले अरुको सम्पत्ति छिट्टै हड्पेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेका हुन् । त्यस सन्दर्भमा नेकपाको राजनीतिक प्रतिवेदनको पृष्ठ ३ मा रहेको निम्न निष्कर्ष मुठ्ठीभर पुँजीपति घरानाहरूको हातमा पुँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पुँजीमार्फत नवऔपनिवेशिक शोषण, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नव उदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादमा प्रश्रय दिन विश्वलाई पुँजीवादी माल र मनोरन्जनको बजार बनाउनु यसको विशेषताको रुपमा रहेका छन् ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू मार्फत विश्वव्यापी रूपमा निजीकरण, उदारीकरण र भूमण्डलीकरणको बर्चश्व कायम राख्ने प्रयास भइरहेको छ । औद्योगिक रुपमा तयार रहेको वस्तुहरुको निर्यात भन्दा पनि वित्तीय पुँजीको निर्यातमा जोड दिँदै एकाधिकार बनाउने प्रयास अघि बढेको छ ।

अर्थतन्त्रको निर्धारक तत्व खुलाबजारलाई बनाउँदै, राज्यलाई नियमकारी निकायको रुपमा सीमित गर्न खोजिएको छ । स्थायी श्रमको साटो करार, ज्यालादारी, आउट सोर्सिङमार्फत श्रमजिवि वर्गलाई विभाजित, असुरक्षित, कमजोर र पराश्रित बनाइएको छ ।

विज्ञान र प्रविधिको मार्फत प्रगतिबाट लाभान्वित हुन बहुसंख्यक जनता बञ्चित नै छन् । आजको वित्तीय पुँजीवाद विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको माध्यमबाट वित्तीय एकाधिकारको, दलालहरूको सञ्जाल तयार गरि नयाँ प्रकारको नव औपनिवेशिक प्रणाली थोपर्ने गरिरहेको छ । उनीहरूले पुँजीवाद र साम्राज्यवादको नवीनतम अभिव्यक्तिको रुपमा विश्व वित्तीय पुँजीवादले आज उत्पीडित श्रमजिवीमाथि शोषण नयाँ र सुक्ष्म रुपहरू पकडिरहेका छन् ।
भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादलाई सही सावित गर्न पुँजीवादी विचारकहरुले नवउदारवाद नीति अघि सारेका छन् ।

प्रत्यक्ष हस्ताक्षेप र टकरावको परिणाम राम्रो नहुने दुई वटा विश्वयुद्धबाट हारजित गरेका विभिन्न पुँजीवादी गुटहरूले अप्रत्यक्ष हस्तक्षेप नै उपयुक्त हुने निष्कर्ष निकाले । त्यसअनुसार आपसमा मिलेर एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको गरिब देशहरूको दोहन गर्ने नीति लिइयो । निजीकरण र उदारीकरणको पक्षपोषण गर्न नव उदारवादलाई यो सन्दर्भमा पुँजीवादले आफ्नो हतियारको रुपमा प्रयोग गर्दै आयो । नवउदारवाद अर्थशास्त्रीहरूले भन्दै आएको कुरा ‘सूचना, सञ्चार र यातायातमा भएको अभूतपूर्व विकासले विश्वका देशहरूलाई यसरी जोडेको छ कि राष्ट्रियताको घेराभित्र खुम्चिएर एक्लै अर्थतन्त्र विकास गर्न सकिदैन, प्रत्येक देशले आफूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्नै पर्छ, उदारवादी अर्थनीति अपनाउनै पर्दछ र सीमानाका सबै बार बन्देजहरू भत्काएर निर्वाध रुपमा पुँजी र मालसामानलाई आवात जावत गर्न खुला छुट दिनुपर्छ’ रहेको छ ।

आश्चर्य के छ भने प्रचार गर्न पुँजीवादी देशहरू स्वयंका लागि भने त्यो नीति लागू गर्दैनन् । आफ्ना लागि उनीहरूले संरक्षणवादको आडमा देश अर्थतन्त्र अझ बलियो बनाउने काममा लागिरहेका छन् । निजीकरण र उदारीकरणको विषय केवल विश्वका गरिब देशहरूमा अपार प्राकृतिक स्रोत र सस्तो श्रमशक्ति दोहन गर्न प्रयोग गरिएको छ । हामीहरूलाई मात्रै बजार खुला गर उदार हौ, निजीकरण गरे भन्ने आफू चाहि त्यस्तो नगर्ने । वस्तुतः आज विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन जस्ता संगठनहरूको सञ्चालक सबैमा विश्वका ठूल्ठूला एकधिकारवादी पुँजीपतिहरू नै रहेका छन् ।

सूचना, सञ्चार र यातायातको भएको विकासलाई वित्तीय पुँजीवादले उत्पादनमा विकेन्द्रीकृत रुपमा जहाँ सस्तो श्रम पाइन्छ, जहाँ अन्य साधानहरूको सहज उपलब्ध हुन्छ त्यही गर्ने गरेको छ । नेटवर्क र साइबरको विकासले गर्दा बहुराष्ट्रिय कम्पनीहरूले एउटा वस्तु उत्पादन एकै ठाउँमा नगरी एउटै ब्राण्ड र मोडलको माल सामान विश्वका विभिन्न ठाउँमा उत्पादन गर्न थालेका छन् । आजभोलि कम्पनीहरूले विश्वका विभिन्न देशका साना कम्पनीहरूलाई एउटै सामानका अगल अगल पार्टपूर्जा उत्पादन गर्न लगाइ अर्को ठाउँमा जोडजाड गरेर बजारमा पठाउने पनि गर्न सुरु भएको छ । उत्पादनको लागत घटाउन, बजारको सुनिश्चितताका लागि यसो गर्न गरिएको छ । वित्तीय पुँजीवादअन्तर्गत उपरोक्त प्रक्रियाबाट पुँजीको चरम केन्द्रीकरण भयो । पुँजीको यो चरम केन्द्रीकरणबाट उत्साहित भएका पुँजीपतिहरू र पुँजीवादी अर्थशास्त्रीहरू अब पुँजीवादको विश्वव्यापी विजय अभियान रोक्न कुनै तागत छैन भन्न थालेका छन् । पुँजीका लागि सीमा भत्काइएको निकै ठूलो प्रचारवाजी गरिएको छ । विज्ञान र प्रविधिको भएको विकासलाई नव उदारवादीहरूले भूमण्डलीकृत पुँजीवादको अर्थात आजको सन्दर्भमा वित्तीय पुँजीवादको औचित्य पुष्टीको प्रमाणको रुपमा प्रस्तुत गर्ने चेष्टा गरिरहेका छन् । जबकी वास्तविक धारतलमा भने विज्ञान प्रविधिको मुख्यतः सूचना प्रविधि, यातायातमा भएको अभुतपूर्व विकासले धनी र गरिबका बीचमा खाडललाई विश्वव्यापी रूपमा सामाजवादी क्रान्तिको वस्तुगत आधारलाई भने बलियो पारिरहेका छन् ।


नवउदारवादीहरूको प्रचारवाजी चलिरहदा पुँजीबजारले अन्तरनिहीत अन्तरविरोधको कारण वित्तीय पुँजीवाद, कथित उदार भयानक संकट रुपमा विष्फोट भयो । पुँजीको अत्याधिक केन्द्रीकरण अनियन्त्रित बजार व्यवस्था र विभिन्न शक्ति राष्ट्र र बहुराष्ट्रिय निगमहरूका विचारमा नाफाका लागि हुने अश्वस्थ प्रतिस्पर्धा आदि कारणले पुँजीवाद अर्थशास्त्रको रामवाणको रुपमा प्रचार गरेको नीजिकरण, उदारीकरणको नवउदारवादी बेलुनको हावा सजिलै खुस्कियो । विश्वमा पहिले कहिले नदेखिएको आर्थिक मन्दीको चपेटमा स्वयम विकसित पुँजीवादी देशहरू नै पर्न गए ।

सन् २००८ देखि विश्वव्यापी रूपमा परेको आर्थिक मन्दीबाट कतिपय मुलुकहरू अझै बाहिर निस्किन सकेका छैनन् । कयौं वित्तीय संस्था, घरजग्गा कारोबार गर्ने रियल स्टेट कम्पनी, उद्योगहरू टाट पल्टिए । संकटकै कारण कतिपय मुलुकमा सरकारसमेत परिवर्तन भए । राज्यले अर्बौं लगानी गरेर त्यस्ता व्यवसायलाई उद्दार गर्न खोजेपनि समस्या जहाँको तहिँ नै रह्यो । सीमिति पुँजीपतिहरूको स्वार्थ रक्षाका लागि ती देशका सरकारले मितव्ययिताका नाममा सुरु गरेको खर्च कटौती, सामाजिक सुरक्षा र नियन्त्रण, मजदुर तथा कर्मचारीको निष्कासनले गम्भीर सामाजिक समस्या र उत्पादन बढ्दै गएको छ ।

यो आर्थिक संकटसँगै विश्वव्यापी रूपमा आर्थिक, सामाजिक समस्याका विरुद्ध विभिन्न स्वरुपका आन्दोलनहरू पनि विकसित हुन थाले । स्वयं अमेरिकामा नै ‘वालस्ट्रिट कब्जा गर, पुँजीवाद संकटमा छ’ भन्ने नाराहरू घन्किए । त्यो आन्दोलन दर्जनौं पुँजीवादी देशका झन्डै नौ सय सहरहरूमा फैलियो । यो संकटसँगै तथाकथित एकध्रुवीय विश्वको सपना पूरा नहुने स्पष्ट भयो । विश्व तीव्र रूपमा बहुध्रुवीय बन्दै जान थाल्यो ।

हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीत युद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धा अमेरिकाले चर्काएर लान खोजेको छ । बाइडेनको शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या गरिएको छ । रक्षा मन्त्रालयको समीक्षामा हिन्द प्रशान्त क्षेत्रमा साझेदारहरूसँग थप सहकार्य गर्न निर्देशन दिइएको छ भन्ने कुरा स्पष्ट लेखिएको छ । हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेकरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ ।

आज अमेरिकाले भारतसँगको सम्बन्ध सुदृढ पार्नुका पछाडि त्यै रणनीतिले काम गरेको देखिन्छ । वास्तवमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारी गरिरहेको संकेत स्पष्ट देखिएको छ । नयाँ शीतयुद्धका रूपमा देखा परेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर पुँजीवादले आफ्नो संकट मोचनको दिशामा अगाडि बढ्न सक्दैन भन्ने स्थिति विल्कुलै छैन ।

आज बिशुद्ध पुँजीवादी मुनाफाका लागि अन्दाधुन्ध खोलिएका कलकारखानाबाट निस्कने धुँवाले व्यापक रूपमा वायुमण्डललाई प्रदुषित गरेको छ । आधुनिकताका नाममा प्रयोग हुने रासायनिक मलले किटनाषक औषधिको प्रयोग आदिले समेत वातावरणलाई प्रदुषित गर्दै अत्यधिक कार्बन उत्सर्जन गरिरहेको तथ्य स्पष्ट नै छ । वन विनाशको प्रक्रिया अनियन्त्रित छ । यातायातका साधनहरूको प्रयोगबाट निस्कने कार्बसमेतका कारण पृथ्वीको तापक्रमको वृद्धिले जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ । चौतर्फी पर्यावरण विनाशका कारण भइरहेको तापक्रममा बृद्धि र जलवायु परिवर्तनको तीव्रताले पृथ्वीकै संरचनामाथि खतरा उत्पन्न भएको छ । समुद्रको किनारामा रहेका देशहरू डुब्ने खतरा दिनप्रतिदिन बढ्दैछ । हिमालय श्रृंखलाबाट हिउँ पग्लिने प्रक्रियाले यसको वरिपरी रहेका देशहरूको मौसम र पर्यावरणमा अस्वाभाविक परिवर्तन भएर प्रकृति, जीवजन्तु र मानिसकै भविष्य खतरामा रहेको स्पष्ट देखिन्छ ।
स्पष्ट छ कि प्रकृति र मानवजातीमाथि पर्दै गएका संकटहरूको प्रमुख कारण पुँजीवादी उत्पादन प्रणाली नै हो । पुँजीवादी उत्पादन प्रणालीको मुख्य प्रेरक शक्ति जसरी भएपनि बढीभन्दा बढी नाफा कमाउनु नै हो । यो प्रणालीले उत्पादन प्रणालीको प्रवृत्ति, संहार र मानवजातीलाई हुने हानीनोक्सानीबारे हिसाब गरेर योजनाबद्ध विकासमा होइन नाफाका निम्ती मात्रै अराजक उत्पादनमा ध्यान दिने भएकाले आज यो संकट विश्वमा आइपरहेको छ ।

अतः आजका कम्युनिस्ट आन्दोलन र लवकतान्त्रिक आन्दोलनका शक्तिहरूले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने र साम्राज्यवादी उत्पादनप्रणालीका विरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्दछ । उपरोक्त विश्लेषणमा आधारमा निस्किने निम्न निष्कर्षहरूलाई गम्भीरता पूर्वक आत्मसात् गरी अगाडि बढ्ने नयाँ संकल्प लिनु आजका कम्युनिस्ट क्रान्तिकारीहरूको ऐतिहासिक दायित्व हो ।

क. भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पुँजीवादको प्रकृति र मानवजातीको हितविरोधी प्रवृतिको खण्डन आलोचना गर्दै २१ औँ सताब्दलीमा नयाँ समाजवादी क्रान्तिको अनिवार्यताबारे निरन्तर, व्यवस्थित र योजनाबद्ध रुपमा जनसमूदायमा प्रचार गर्ने ।

ख. मार्क्सवादको आधारभूत सिद्धान्तको निर्देशनमा सबैखाले जडता, यान्त्रिकता र आत्मसमर्पणवादका विरुद्ध विचारधारात्मक संघर्ष चलाउँदै वित्तीय पुँजीवादका रूपमा प्रकट भइरहेको भूमण्डलीकृत सामाज्यवादका विरुद्ध क्रान्तिका अनुभवहरूको समीक्षासहित २१ औँ सताब्दीमा नयाँ विचारको रूपमा स्थापित गर्न जोड गर्ने ।

ग. आजको पुँजीवादले स्थानीय स्तरमा गएर आदिवासी र स्थानीय समुदायको प्राकृतिक साधनस्रोतमाथिको हक र उनीहरूको सांस्कृतिक पहिचानमाथि भइरहेको हमलालाई स्पष्ट गर्दै व्यापक रूपमा स्थानीय सामुदायिक मोर्चा कायम गरी प्राकृतिक स्रोत साधनमाथि स्थानीय जनताको हक अधिकार कायम गर्न तथा समुदायको आर्थिक सामाजिक र सांस्कृतिक पहिचान र अधिकार स्थापना गर्न देशव्यापी अभियानलाई तीव्रता दिनुपर्छ ।
घ. राष्ट्रिय सीमा भत्कियो भन्ने नवउदारवादीहरूको प्रचारका विरुद्ध आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकास तथा वित्तीय एकाधिकार पुँजीवादको पक्षपोषण गर्ने दलाल नोकरशाही पुँजीवादका विरुद्धको संघर्षलाई नयाँ उचाइमा उठाउँदै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

ऐतिहासिक पृष्ठभूमि र राष्ट्रिय राजनीतिक परिस्थिति
प्राकृतिक र भौगोलिक रूपले स्वच्छ एवं उर्बर भूखण्ड नेपालमा आदिकालदेखि नै मानव सभ्यता र समाजको विकास भएको तथ्य व‌ौद्धिक वाङ्मय, उपनिषद्, साहित्य, त्रिपटिकहरू एवं विभिन्न काव्य ग्रन्थहरूमात्र होइन आधुनिक वैज्ञानिक अनुसन्धानबाटसमेत प्रमाणित भएका छन् । सन् १९८० मा गरिएको वैज्ञानिक अन्वेषणबाट पाल्पा जिल्लामा पर्ने दोभानको तिनाउ नदी किनारमा भेटिएको दाँतको अवशेषको अमेरिकामा गरिएको विशेष परीक्षण गर्दा एक करोड १० लाख वर्ष पहिलेको प्रमाणित भएको छ । त्यसबाट स्पष्ट हुन्छ कि नेपाल र यो भूखण्ड परापूर्व कालदेखि नै मानव सभ्यताको विकासको आदि थलो हो ।

आजको राजनीतिक परिस्थितिमा रहेका सम्भावना र चुनौती
वर्तमान संविधानको रक्षा गर्दै यसका आधारभूत विशेषताहरूमाथि थप विकास र संशोधन गर्दै समाजवादउन्मुख यात्रा प्रारम्भ गर्ने वा संविधानमा रहेको प्रगतिशील र जनपक्षीय चरित्रलाई र अन्ततः संविधानलाई नै खारेज गरेर प्रतिगामी यात्रातिर लाग्ने भन्ने प्रश्नमा केन्द्रित भएका छौँ । क्रान्तिमा पराजित सामन्ति तत्वहरूको प्रतिनिधित्व भएका दलहरू यो संविधान खारेज गराउने कार्यमा लागेका छन् भने कम्युनिस्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर, देशभक्त र लोकतान्त्रिक शक्तिहरू संविधानको रक्षा र यसको गरिमा जोगाउने पक्षमा अगाडि बढिरहेका छन् । यही दलीय राजनीतिक अन्तरविरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ । असंवैधानिक र निरंकुश तवरबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने, संविधान र ऐनको व्यवस्थाविपरीत राजनीतिक दलहरूमा विभाजन गर्नेदेखि संविधानले निर्धारण गरेका महत्वपूर्ण निकायहरूमा अवैधानिक नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावना विपरीतका क्रियाकलाप गर्दै संविधान, ऐन र अदालतका निर्णयलाई चुनौती दिँदै जाने र संविधानबाटै स्थापित लोकतान्त्रिक प्रणालीविरुद्ध निरंकुश राजतन्त्रको पुनःस्थापनाको हल्ला गर्ने जस्ता कामहरू नै प्रतिगामी तत्वहरूले आजका दिनमा चलाइरहेको कदम हो ।
त्यसको ठीक विपरीत संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निमित्त वाम–लोकतान्त्रिक शक्तिहरू मोर्चाबद्ध रुपमा अगाडि बढेर सफलतापुर्वक अघि बढिरहेका छन् । तथापि आज पनि देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो प्रतिगामी चाहनालाई नयाँ नयाँ रुपमा अगाडि बढाउने कार्य भने छाडेका छैनन् । कहिले व्यवस्थापिका, त कहिले न्यायपालिका, त कहिले कार्यपालिकामाथि हमला गरेर देशलाई प्रतिगमनको सुरुङमा हाल्ने प्रतिक्रियावादीहरूको कदम अझै रोकिएको छैन ।

उपयुक्त पृष्ठभूमिमा हामीले निम्न कार्यहरू गर्नु आवश्यक छः
क) परिवर्तनको प्रमुख बाहक हुनुको नाताले सबैभन्दा पहिले हामीले आफ्नै पार्टीलाई वैधानिक, राजनीतिक, सांगठनिक र सांस्कृतिकरुपले बलियो पार्न र जनसंगठनलाई बलियो पार्न जोड लगाउनुको विकल्प छैन ।
प्रतिक्रियावादी र प्रतिगामी शक्तिको जुनसुकै षडयन्त्रकारी कदमको प्रतिवादका लागि सडक, सदन र सरकारमा हाम्रो भूमिका प्रभावकारी बनाउन जोड दिनुपर्दछ । क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी पार्टीले उठाएका मुद्दाहरू सडकबाटै उठाएर सम्बोधन भएको इतिहास हामीले कहिल्यै पनि भुल्नुहुँदैन । सुदृढ पार्टी, व्यापक जनसंगठन, घनिष्ट जनसम्पर्क, राष्ट्र र जनताको हितका निमित्त कठोर संघर्षको तयारी नै हाम्रो विजयीका आधार हुन् ।
ख) प्रत्यक्ष वा परोक्ष वैदेशिक प्रतिक्रियावादी दबाब र हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलन निरन्तर अगाडि बढाएर मात्रै जनवादी क्रान्तिका बाँकी कामहरू पूरा गर्दै समाजवादी क्रान्तिको आधारहरू तयार पार्न सकिन्छ ।
आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न सम्पूर्ण जाति, वर्ग क्षेत्र र समुदायका पहिचान र अधिकारलाई स्थापित गरेर मात्रै बाहृय हस्तक्षेपलाई निष्तेज पार्न सकिन्छ ।
ग) आजको ठोस राजनीतिक परिस्थितिमा संविधान, लोकतान्त्रिक गणतन्त्र एवं राष्ट्रिय स्वाधीनताको रक्षाका विषयमा समान विचार राख्ने लोकतान्त्रिक र वामपन्थी दलहरूका साथै सम्पूर्ण देशभक्त र जनपक्षीय शक्तिहरूसँग व्यापक सहकार्य र एकता कायम गर्दै प्रतिगामी शक्तिहरूका षड्यन्त्रका विरुद्ध व्यापक तयारी गर्नुपर्दछ ।
घ) समाजवादी क्रान्तिका आधार तयार गर्न समाजवादउन्मुख आर्थिक नीति, सामाजिक न्याय सहितको सहकार्य, सार्वजनिक र निजी क्षेत्रको सम्बन्धमा अगाडि बढ्न ठोस नीति योजना र कार्यक्रमहरू बनाउनु जरुरी छ । स्थानीय र समुदायको तहदेखि उत्पादन र श्रमको व्यवस्थापनका लागि तथा सांस्कृतिक रुपान्तरणको योजनाद्धारा जनचेतना विकास गर्न, उत्पादन श्रम र संस्कृतिको संयोजन गर्न ठोस योजना र कार्यक्रम अगाडि बढाउनुपर्दछ ।
(माओवादीको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको सम्पादित अंश।)