बागलुङका भलिबल खेलाडी सम्मानित

-


     कालिका दर्शन     
     पौष १८ गते २०७८ मा प्रकाशित


स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा विजेता बनेको बागलुङको गलकोट भलिबल टिमका खेलाडीलाई आईतबार बागलुङ बजारमा बिशेष सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति, बागलुङ पर्यटन विकास समिति र गलकोट समाज बागलुङले खेलाडीलाई आज सम्मान गरेको हो । सदरमुकाममा आयोजित कार्यक्रममा खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का, पर्यटन ब्यवसायी अर्जुन चोखाल लगायतले खेलाडीलाई माला, खादा र टीका प्रदान गरेका थिए ।

सम्मानित हुनेमा टिम प्रशिक्षक सुरेन्द्र केसी, कप्तान राजु विकसहित खेलाडी मिन सुनार, कुश्मन थापा, प्रकाश सुनार, बिमल परियार, रिजन राना, लक्ष्मण सुनार, दीपक मल्ल, इन्द्र विक र मोहित थापा हुनुहुन्छ ।

सम्मान ग्रहणपछि बोल्दै प्रशिक्षक केसीले खेलाडीलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । सम्मानले खेलडीलाई उत्प्रेरणा जगाउने उहाँको भनाइ छ । “विजेता बनेर आउँदा मात्र होइन, खेलमा जाँदा पनि सम्मान र बिदाइ गर्ने चलन बसाल्नुपर्छ”, प्रशिक्षक केसीले भन्नुभयो ।

टिम व्यवस्थापन गरेर हिँड्नु चुनौतीपूर्ण भएको भन्दै उहाँले खेलाडीका समस्या धेरै भएको सुनाउनुभयो । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासङ्घ बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले खेलकामार्फत देशको छबि निर्माण गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले खेल क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने र खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । धवलागिरि बहुमुखी क्याम्पसका प्राडा दिनबहादुर थापाले भलिबलले बागलुङलाई देशमा चिनाएको बताउनुभयो । उहाँले भलिबलमा जिल्लाको गलकोट भेग पहिलदेखि नै अग्रस्थानमा रहेको स्मरण गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्काले खेलाडीको व्यावसायिक हितमा राज्यले सोचे जसरी काम गर्न नसकेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि बनेको समिति आफै लामो समयदेखि समस्याग्रस्त रहेको उल्लेख गर्नुभयो ।

स्थानिय खेलाडीहरुले ५ लाख धनराशीको पुरस्कार जितेर बागलुङको नाम राखेकोमा उनिहरुसंगै रहेर खुशी बाड्दा धेरै खुशी लागेको पर्यटन ब्यवसायी अर्जुन चोखालले बताउनु भयो। आगामी दिनहरुमा खेलाडीहरुले बागलुङको नाम उच्च बनाउन र उनिहरुलाई सफलताका लागी प्रोत्साहन गर्नको लागी सदरमुकाममा सम्मान गरिएको चोखालले बताउनु भयो।

गलकोट नगरपालिकाको प्रतिनिधित्व गर्दै देशका विभिन्न जिल्लामा हुने भलिबल प्रतियोगितामा गलकोटको टिमले सफलता हात पार्दै आएको छ । दुई वर्षअघि भएको पहिलो पुतलीबजार कप भलिबलको उपाधि पनि यही टिमले जितेको थियो ।