कोरोना रोकथामबारे सरकारलाई एमालेको २२ बुंदे सुझाव

-


     कालिका दर्शन     
     माघ १ गते २०७८ मा प्रकाशित


विश्वमा विभिन्न कालखण्डमा बिकराल सरुवा रोगले मानव समाजलाई प्रभावित पारेका इतिहास रहिआएको छ । त्यसको पछिल्लो परिघटना सन् २०१९ डिसेम्बरमा चीनको उहान प्रान्तबाट शुरु भएको कोभिड–१९ हाल विश्वभर महामारीका रुपमा फैलिरहेको छ । यसले यो शताब्दीकै उच्च महामारीको रुप लिई जनस्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
हाल विश्वमा कोभिड–१९ ले झन्डै ३१.५ करोड मानिसहरू संक्रमित भइसकेको, २६.२ करोड मानिसहरू रोगबाट निको भइसकेको, ४७ लाख मानिसहरू अझै संक्रमिक अवस्थामा रहेको, ५५.२ लाख मानिसहरूले मृत्युबरण गरिसकेको र रोगीहरूमध्ये पनि अझै ९६ हजार मानिसहरू जीवनमरणको दोसाँधमा बाँचिरहेका तथ्यांक छ ।
नेपाल पनि यस महामारीबाट अछुतो रहन सकेन । नेपालमा सन् २०२० अप्रिलमा पहिलोपटक कोभिड–१९ का संक्रमितको प्रवेश भयो । अन्य देशमा जस्तै यहाँ पनि दुई लहर आइसकेको र तेस्रो लहर सुरु भएको छ । नेपालमा हालसम्म नौ लाख चालीस हजार ५ सय ५२ व्यक्ति संक्रमित भइसकेका, आठ लाख पन्ध्र्र हजार ३ सय ४७ निको भएका र ११ हजार ६ सय १० ले मृत्युबरण गरिसकेको अवस्था छ । स्रोत ः सीसीएमसी २०७८ पुस २९

यस सन्दर्भमा हामी, हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले कोभिड–१९ रोगथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउन चाहन्छौं ।
१. रोगथाम, नियन्त्रण र उपचारलगायतका लागि स्टान्डर्ड गाइड लाईन तयार गरी लागू गरिएको ।
२. देशमा प्रयोगशालाको उपलब्धता नरहेको अवस्थाबाट रोगको पहिचानको लागि ८२ वटा पी.सी.आर. ल्याबको स्थापना गरी जाँचको दायरा फराकिलो बनाएको ।
३. उपचारको लागि समर्पित हस्पिटलको व्यवस्था मिलाएको । सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित अस्पताल र मेडिकल कलेजका बीचमा समन्वयात्मक ढंगले काम गरेको ।
४. व्यापकरुपमा कन्टयाक ट्रेसिङ्गको व्यवस्था मिलाएको ।
५. सीसीएमसीको गठन गरी राज्यका सम्पूर्ण निकाय र तहका बीचमा एकीकृत र समन्वयात्मक ढंगले काम गरेको ।
६. कोभिड–१९ बाट संक्रमितको उपचारका लागि बीमा व्यवस्था गरेको ।
७. अस्पतालहरूमा उपचारको लागि आवश्यक भौतिक पूर्वाधार, अक्सिजन, आईसीयू बेड र भेन्टीलेटरजस्ता उपकरणको व्यवस्था र त्यसका लागि पर्याप्त बजेट विनियोजन गरिएको ।
८ आवश्यकता अनुसारको बजेटको व्यवस्थापन गरेको ।
७. सबै तहका सरकारबीच समन्वय गरी सहकार्य तथा परिचालन गरेको र विशेषगरी स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गरिएको ।
८. सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग र मित्र राष्ट्रहरूसँग कुटनीतिक पहलमार्फत् औषधी, उपकरण र खोपको आपूर्ति व्यवस्था गरिएको ।
९. अत्यन्त कठीन अवस्थामा पनि दक्षिण एशियामा भारतपछि पहिलो मुलुकको रुपमा खोपको सुरुवात गरी निरन्तरताको लागि सुनिश्चिताताको व्यवस्था मिलाएको ।
१०. खोप भण्डारणको व्यवस्था नभएकोले सो सम्बन्धी कार्य प्रारम्भ भएको ।
११. जनशक्ति व्यवस्थापन, उत्पादन तथा प्रेरणा जागृत गर्नुका साथै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको ।
१२. अनुगमन र मूल्यांकन समितिमार्फत् आएका सुझावहरूलाई कार्यान्वयन गरिएको । विज्ञ तथा सरोकारवालासँग नियमित छलफलमार्फत् पृष्ठपोषण प्राप्त गरेको । बेलाबेलामा सर्वदलीय बैठक आयोजना गरिएको ।
१३. प्रधानमन्त्रीको नेतृत्वमा केन्द्रीय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र, जिल्लास्तरीय समिति र स्थानीय निकायमा एक समिति गठन गरी अधिकार प्रत्यायोजन गरिएको ।
१४. नेपाल–भारत सिमानामा अस्थायी होल्डिंग सेन्टरको स्थापना तथा व्यवस्थापन र ७ वटा स्थायी सेन्टरको व्यवस्थापनको योजना कार्यन्वयनमा लगेको ।
१५. सबै प्रकारको स्वास्थ्य प्रणालीको अधिकतम प्रयोगको व्यवस्था मिलाइएको ।
१६. कोरोनाका कारण प्रभावित बनेको व्यवसायिक क्षेत्रलाई पुनः स्थापना गर्ने विभिन्न प्याकेजहरू कार्यान्व्यनमा ल्याएको । रोजगारीका वैकल्पिक उपायका लागि पहल गरिएको ।
अघिल्लो सरकारले रोकथाम, नियन्त्रण र उपचारका लागि पर्याप्त आधार तयार गरिसकेको अवस्थामा पनि हाल निम्न विषयमा कमजोरी देखिन्छ ।
१. प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको ।
२. खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको । पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनपर्ने काम हुन नसकेको ।
३. जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको ।
४. सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको ।
५. नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको ।
६. बिमितहरूको रकम उपलब्ध नभएको ।
७. टेस्टिङ्ग र ट्रेसिंग कार्यमा बृद्धि नभएको ।
८. औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको ।
९. राजनीतिक दल तथा तिनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको ।
१०. कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको ।
११. अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको ।

अहिलेको विषम परिस्थितिमा कोभिड–१९ बाट नेपाली जनतालाई बचाउन, नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न, दैनिक जनजीवनलाई सुचारु गर्न निम्न कार्यहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन हाम्रो पार्टी यहाँको गम्भीर ध्यानाकर्षण गर्दछ ।
१. जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्ने ।
२. खोपकेन्द्रको संख्या बृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउने । राज्यका निकाय र कुटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्ने ।
३ . तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ बिपत व्यवस्थापन कार्य संचालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिंग सेन्टरको तुरुन्त व्यवस्थापन गरी संचालन गर्नुपर्ने ।
४. थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने । साथै अग्रभागमा क्रियाशील जनशक्ति तथा स्वयंसेवकका लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने ।
५. स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउने ।
६. राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने ।
७. समर्पित अस्पतालको व्यवस्था गर्नुपर्ने । सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजको समन्वयात्मक परिचालन गर्नुपर्ने ।
८. पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने ।
९. बालबालिका, गर्भवती महिला, बृद्धबृद्ध, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा संचालन गर्ने ।
१०. आवश्यकताअनुसार पुनः स्थापना केन्द्र संचालन गर्नुपर्ने ।
११. औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने ।
१२. पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसाय स्थल, धार्मिक, साँस्कृतिक स्थललगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोप उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने ।
१३. अस्पतालको स्तर बृद्धि गरी थप सेवा संचालन गर्नुपर्ने ।
१४. सम्पूर्ण संक्रमित बिरामीको लागि निःशुल्क स्वास्थ्य सेवा संचालन गर्नुपर्ने ।
१५. बुस्टर डोजको व्यवस्था तत्काल मिलाउने ।
१६. निरोधात्मक स्वास्थ्यका लागि खानपिन तथा व्यायाम र जीवनयापनसम्बन्धी जनचेतना जागृत गर्ने ।
१७. राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउने ।
१८. कोभिडबाट मृत्यु भएकाले आश्रित परिवार गर्भवती महिला, बालबालिका, बृद्धबृद्धा, अपाङ्ग र अशक्त० लाई पुनस्र्थापनाको व्यवस्था गर्ने ।
१९. स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउने ।
२०. दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सुचारू राख्ने ।
२१. अर्थतन्त्रमार्फत् विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्ने । वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउने ।
२२. विदेशमा कार्यरत नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने ।

नेकपा एमालेले सबैभन्दा ठूलो, जिम्मेवार र प्रमुख प्रतिपक्ष पार्टीका हैसियतले जनताको स्वास्थ्यलाई जहिले पनि उच्च प्राथमिकतामा राख्दै आएको छ । सरकारमा रहँदा वा नरहँदा ‘राष्ट्र र जनता पहिले’ भन्ने हाम्रो पार्टीको दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन । स्वस्थ नागरिक, स्वस्थ समाज र सबल राष्ट्रमार्फत् ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा हासिल गर्न हाम्रो पार्टी सदैव प्रतिबद्ध छ ।
कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । यस कार्यमा सरकारले आवश्यक ठानेको सहयोग र समन्वयका लागि हाम्रो पार्टी तयार रहेको यहाँलाई जानकारी गराउँदछौं ।
धन्यवाद

योगेश भट्टराई
प्रमुख
स्वास्थ्य तथा जनसंख्या विभाग