खाल्डो पुरेर ओडारचौरमा मिनि रङ्गशालाको लक्ष्य

-


     कालिका दर्शन     
     माघ ६ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका वार्ड नं ४ ओडारचौरमा बहुउद्धेश्यिय खेलकुद मैदान बन्ने भएको छ । झण्डै १२ मिटर खाल्डो पुरेर ओडार चौरमा रहेको सार्वजनिक जग्गामा स्थानिय द्रोणचार्य शर्माको केही जग्गा मिलाएर करिव ७ रोपनी जमिनमा खेलकुद मैदानको निर्माण कार्य आगाडी बढाइएको छ ।
झण्डै २० बर्षदेखि स्थानिय समुदायले यो खाल्डोमा खेलकुद मैदानको सपाना देखे पनि ४ बर्ष अगाडीबाट काम शुरु गरिएको ओडारचौर टोल बिकास समितिका अध्यक्ष द्रोणचार्य शर्माले बताउनु भयो । विदेशमा रहेका सुनिल के.सी,यादव शर्मा सहित स्थानिय युवाहरुको सक्रियतामा करिब ५० लाख रकमबाट काम शुरु गरिएकोमा गत बर्षसम्म ३५ लाख सरकारी रकम प्राप्त भएको र यो बर्ष बानपाबाट २० लाख बिनियोजन भएको अध्यक्ष शर्माले बताउनु भयो ।


बिगतमा खाल्डो पुर्ने, मैदानको पूर्व तथा दक्षिण तर्फ पर्खाल लगाउने काम भएको उहांले बताउनु भयो । यो बर्ष मैदानको दक्षिण तर्फ नाली र पर्खाल बनाउने योजना रहेको छ । यो बर्षको बजेट अनुसारको काम भयो भने बल्ल मैदानले आकार लिने र आगामी बर्ष बिनियोजन हुने रकमले पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको शर्माले जानकारी दिनु भयो ।
१ सय मिटिर लम्वाई र ४० मिटर चौडाई रहेको यो मैदान तयार भएमा ७।७ जना सहभागी फुटबल ग्राउण्ड सहित भलिबल, बास्केटबल, टेबुल टेनिस आदी खेललाई एकसाथ संचालन गर्न सकिने संयुक्त चार युवा क्लबका अध्यक्ष अभिषेक कटुवालले बताउनु भयो । हाम्रो वार्डमा युवाहरुको संख्या पनि राम्रो छ, यो मैदान तयार भएमा यसको प्रयोग अधिकतम गरिने छ ।
यो बर्ष ओडारचौर मैदानलाई पूर्णरुपमा विस्तार गरिदै छ । मैदानको वरपरबाट लिन सकिने जति जमिन लिएर समथर बनाउने र खाल्डोमा माटो पुर्ने काम चलिरहेको छ । स्थानिय तिरुपति युवा क्लबका सचिव प्रविण सापकोटाले यो मैदानको निर्माण कार्य पुरा भएमा यो क्षेत्रको चहल पहलमा पनि बढ्ने र आर्थिक गतिविधिमा बृद्धि हुने बताउनु भयो ।
ओडारचौर खेल मैदानलाई प्याराफिट सहित आधुनिक मिनीरङ्गशालाको रुपमा विकास गर्ने बानपा ४ को लक्ष्य रहेको वार्ड अध्यक्ष ध्रुब बहादुर के.सी बताउनु हुन्छ । आगामी बर्ष मञ्च, खानेपानी, शौचालयको निर्माण गरि बिभिन्न खेलकुदका प्रशिक्षण र प्रतियोगिताहरु नियमित संचालन गरिने बताउदै अध्यक्ष के.सीले यो बागलुङको बाङ्गेचौरको बिकल्पका रुपमा प्रयोग गर्न सकिने खेल मैदान हो । सोही अनुसार सबैको सहयोगको उहांले अपेक्षा गर्नु भयो ।