सिंगानाका सुन्तला र राम बहादुर खड्काको सक्रियता

-


     कालिका दर्शन     
     माघ ११ गते २०७८ मा प्रकाशित


कुरा सुन्दै जादा ५० बर्षिय राम बहादुर खड्काले भन्नु भयो-आज भन्दा ५ बर्ष अगाडी नै तिव्बतले आफुलाई चाहिने सुन्तला १ हजार रुपैयांमा अष्टे्लियाबाट खरिद गरेर ल्याउने रहेछ । तिव्बतमा सुन्तला निकै लोकप्रिय फलफुल रहेछ । त्यहां तिव्बतियनहरुले पाउनाहरुलाई सुन्तलाले स्वागत गर्दा रहेछन । यो खबर खड्कालाई कथा जस्तो लाग्यो रे ।
तिव्बतको सुन्तला आयातलाई हेर्ने हो भने बजार र मुल्य दुवै राम्रो छ । यो अवसरलाई हामीले छोप्न सकिरहेका छैनौं । तिव्बतका व्यापारीहरुले नेपालको सुन्तला हेर्न नआएका पनि होइनन, उनीहरुले खोजे जस्तो र भने जस्तो नेपालको सुन्तला किन भएन ? बागलुङ सहित गोरखा, स्याङ्जा, धनकुटा आदी जिल्लाको सुन्तला हेर्न उनिहरु आएका पनि हुन । यस बारेमा राज्यले विशेष अध्ययन र अनुसन्धान गर्नु पर्ने खड्का बताउनु हुन्छ ।


नजिकै रहेको यति ठूलो बजारलाई राज्यले चिन्न नसक्नु बिडम्बना हो । हुन त बजार तिव्बत मात्र थिएन होला, अन्त पनि होलान तर खै त किसानलाई राहत दिएको सरकारले ? खड्काले निराश जस्तो हुदै भन्नु भयो । केही दिन पहिला काठमाडौंका व्यापारीहरु सिंगानको सुन्तला हेर्न आएका थिए । दाना हेरेछन र केही सानो भयो भनी गएछन ।
यस पटक बर्षाले सुन्तला उत्पादनमा निकै प्रभावित भयो । गत बर्ष भन्दा यो बर्ष कम उत्पादन भयो । दाना पनि अलि साना फले । काठमाडौंमा अलि ठूला ठूला दानाको माग भयो । यो बर्ष काठमाडौंका माग बमोजिमको उत्पादन प्रकृतिका कारण हुन सकेन । स्थानिय स्तरमा सुन्तलाको बजार स्थानिय डोके व्यापारीहरुले गरिरहेका छन । सिंगानामा होलसेलमा ८० देखि ८५ रुपैयामा सुन्तला पाइन्छ । खुद्रा बढीमा १०० रुपैयांसम्ममा विक्री गरिन्छ । बजारमा यो मूल्य १२० पर्छ । यो हिसाबले डोकोबाट ल्याएर व्यापार गर्नेले सबै सुन्तला विक्री भएमा १५, १६ सय नाफा कमाउने रहेछन ।


राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि खड्काको लामै संलग्नता रहेको छ । पछिल्लो समय कृषि उत्पादनमा उहाले धेरै समय दिइरहनु भएको छ । तालिम, गोष्ठी, भ्रमणमा पनि उहाले नियमित सहभागिता जनाइ राख्नु भएको छ । अहिले करिब १५ रोपनी जमिनमा २ सय २० सुन्तलाका रुखहरु रहेका छन ।
यसो हेर्दा सुन्तला लगाएपछि खासै केही गर्नु नपर्ने खालको बुझाई धेरैमा छ । तर यसलाई पनि बेला बेलामा सिंचाई, मल, कटाइ लगायत आवश्यकता अनुसार औषधी गर्नु पर्छ । मलको अभावले अब धेरै विरुवा थप्ने योजनामा उहां हुनुहुन्न रहेछ ।
बर्षमा करिब ३ लाखको सुन्तला विक्री गर्नु हुने खड्काले यो बर्ष उत्पादन घटेकाले आम्दानी पनि कम भित्राउनु भयो ।
सुन्तलाका दाना मात्र हैन उहांले नर्सरी पनि स्थापना गर्नु भएको छ । नर्सरीबाट विभिन्न विरुवाहरु पनि विक्री गर्नु हुन्छ । गएको सिजनमा ५ हजार सुन्तलाका बिरुवा बिक्री भए । ति बिरुवाको उमेर अनुसारको मुल्य हुने भएकाले ७० देखि ८० रुपैयामा बिक्री गर्नु भयो । साधारणतया साडे १ बर्ष जतिको बिरुवा लगाउन योग्य भए पनि उहांले २,३ बर्षका विरुवा नर्सरीमा उत्पान गर्नु हुने रहेछ ।


पछिल्लो ५,७ बर्ष यता सिंगानाको समुदाय एकढक्का भएर सुन्तला खेती तर्फ आकर्सित भएको छ । तत्कालिन सिंगाना गाविस अध्यक्ष, शिक्षण पेशामा लामो समय विताउनु भएका टोप बहादुर खड्का सहितले सुन्तला खेतीलाई व्यवसायिक रुपमा शुरु गरेको देखेपछि उहांको सल्लाहले धेरैलाई यो पेशाले छोयो । केही बर्ष सिंगानामा संचालित सुन्तला महोत्सवले पनि चर्चा पायो । यो महोत्सवले स्थानिय सुन्तलाको व्यापार, प्रचार प्रसार र प्रबद्र्धनमा ठुलो सहयोग गरेको देखियो ।


नेपालीहरुको जिबनस्तर उठाउने राम्रो माध्यम हो, कृषि । तर राज्यले विकासका कुरा धेरै गर्ने तर किसानलाई उचित सम्बोधन नगरेको खड्काको गुनासो छ । राज्यले चाहने हो भने कृषिमा धेरै विकास हुन सक्छ । हामी सामान्न किसानले सबै कुरा बुझ्न सकिन्न । विभिन्न देशहरुसंग जुन खालको अध्ययन, अनुसन्धान, सम्बन्ध विस्तार र विकास गर्नु पर्ने हो, त्यो हुन सकिरहेको छैन । २०, ४० वटा विरुवा लगाएर वा २, ४ रोपनीमा परम्परागत खेति किसानीले कृषिको विकास हुन्न । सांच्चै कृषिलाइ नबुझेसम्म , नचिनेसम्म र काम नगरेसम्म हो हल्ला र रहरले मात्र केही हुदैन ।