त्रिविका स्थगित परीक्षा फागुन १ देखि सुरू हुने

-


     कालिका दर्शन     
     माघ १९ गते २०७८ मा प्रकाशित


त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।
जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, तर्फको ४ वर्षे वी.एस्सी र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनः सञ्चालन गरिने भएको छ ।
यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ । परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनुपर्ने कोड र विषयबारे यकिन गरेर मात्र परीक्षा दिनुपर्ने भन्दै सचेत गराएको छ ।
अन्यथा परीक्षण नियन्त्रण कार्यालय जवाफदेही नहुने भन्दै परीक्षार्थीहरूलाई सचेत गराएको छ । त्रिविले यसअघि कोरोना संक्रमण जोखिमका कारण परीक्षाहरू स्थगित गरेको थियो ।