
कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।
हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो ।
बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालेको छ । माउन्ट धवलागिरि कन्सट्रक्शनका सञ्चालक राजकुमार श्रेष्ठले कालीपुल बसपार्कस्थित नदी किनारमा एक्साभेटरको प्रयोग गरी जग खन्न थालेको बताउनुभयो ।
पर्वतको जलजला गाउँपालिका वारीबेनीका बासिन्दाको विरोधका कारण संगमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध बनाउन बाधा पुगेको छ । विवाद समाधान गर्न सम्बन्धित पालिकालाई कम्पनीले अनुरोध गरेको छ ।
२२ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ९ करोड ४५ लाखमा ठेक्का सम्झौता भएको हो । परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल १४ करोड लागत अनुमान गरिएको योजना ठेक्का रौताह–बिएनबीले पाएको बताउनुभयो ।
कालीपुलमा ८० र म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १ सय ६८ मिटर आरसिसी तथा मंगलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ । चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको हो ।