बागलुङको पर्यटकिय गन्तब्यको रुपमा रहेको भकुण्डेमा पर्यटकहरु आकर्षित गर्न पार्क निमाण गरिदै छ । ग्रामिण पर्यटन तथा होम स्ट्ेका अभियन्ता स्याङ्जा सिरुवारीका रुद्रमान गुरुङको स्मृतिमा उक्त पार्क निर्माणको काम थालनी गरिएको अतिथि सत्कार होम स्ट्े भकुण्डेका अध्यक्ष खिम थापाले जानकारी दिनु भयो । पूर्व सांसद समेत रहेका गुरुङलाई ग्रामिण पर्यटन तथा होम स्ट्ेका पिता भनी सम्बोधन गर्न थालिएको छ ।
गण्डकी प्रदेश, पर्यटन मन्त्रालयको गत बर्ष विनियोजित १० लाख तथा यस आ.बमा विनियोजित १० लाखले भकुण्डेको धौलेचौरमा रुद्रमान गुरुङ स्मृति पार्कको निर्माण कार्य जारी छ । करिब १०० मिटर लम्बाई तथा ४० मिटिर चौडाई रहेको स्थानमा गुरुङको शालिक, तारबार, प्रवेशद्धार आदी निर्माण कार्य जारी रहेको अध्यक्ष थापाले जानकारी दिनु भयो । स्थानिय लाल बहादुर थापाको अध्यक्षतामा पार्क निर्माण समिति रहेको छ ।
सो पार्क निर्माणका लागी बानपाको सहयोगमा डिपिआर समेत बनाइएको छ । करिब सवा ५ करोडको डिपिआर बनाइएको भए पनि काम विस्तारै शुरु गर्ने योजना अनुसार यो काम भएको अध्यक्ष थापा बताउनु हुन्छ ।
भकुुण्डेमा रहेको अतिथि सत्कार होम स्ट्ेमा करिब १ सय पर्यटकहरु राख्ने क्षमता रहेको छ । कोरोनाको तेस्रो लहरले पर्यटक आवागमनमा केही प्रभाव परेपनि पर्यटकहरुको सुविधा तथा स्वागतका लागी हामीहरु सदा तत्पर रहेको थापा बताउनु हुन्छ । सदर मुकामबाट नजिक भएका कारण पर्यटकहरु भकुण्डे होम स्टे्मा रमाउन थालेका छन । भकुण्डेमा रहेका ताल बराह, मुलाबारी, शौर्य धुरी, भ्यू टावर तथा स्थानिय उत्पादन आदीले पर्यटकहरु आकर्षित देखिन्छन । भकुण्डेबाट देखिने हिमश्रृङ्खलाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ ।