
बागलुङ बजारदेखि १२ किलोमिटरमा पुग्न सकिने सिगाना पुग्न सवारी साधनहरुलाई दुई घण्टा लाग्थ्यो । उकालोमा जेनतेन गाडीले ताने पनि समथर भागमा सवारी फसेर हैरान हुन्थ्यो ।
बागलुङ बजारको देउराली चोकदेखि बोक्सेसम्मको जम्मा २ दशमलव ६ किमी सडक पार गर्न एक घण्टा लाग्थ्यो । तर पछिल्लो चार वर्षका अवधिमा सिगाना पुग्ने सडक निकै सुधार भएको छ ।
सिगाना पुग्ने सडकअन्तर्गत बागलुङ बजारदेखि बोक्सेसम्मको सडक अहिले पूरै पक्की भएको छ । देउराली चोकदेखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्र गरी पछिल्लो चार वर्षका अवधिमा सडक पक्की भएको हो । योसँगै बागलुङ बजारदेखि सिगाना पुग्ने सडक बोक्सेसम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समयसमेत छोटिएको छ ।बागलुङ बजारदेखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकामा अहिले सडक कालोपत्र भएपछि निकै सहज भएको बागलुङ बजारदेखि सिगाना सडकमा नियमित सवारी साधन चलाउँदै आउनुभएका सवारी चालक गोविन्द शर्माले जानकारी दिनुभयो ।
साँघुरो सडकलाई अहिले ६ मिटर कायम गरी पक्की बनाइएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झन्डै साढे दुई करोडका लागतमा अहिले बोक्सेसम्मको सम्पूर्ण सडक पक्की भएको पौडेलको भनाइ छ ।