जलजला अध्यक्ष मल्लद्धारा वडा कार्यालयको शिलन्यास

-


     कालिका दर्शन     
     माघ २० गते २०७८ मा प्रकाशित


पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण गरिने भएको छ । निर्माण हुने भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार शिलन्यास गर्नु भएको थियो ।
शिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो । पाँच बर्षको अवधिमा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सडक लगायतका पूर्वाधार निर्माणमा उल्लेखनीय काम भएको दावी गर्नुभयो ।
यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले बताउनुभयो । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेकाले आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह पनि प्रभावकारी हुने अपेक्षा गरिएको क्षेत्रीको भनाई थियो ।
तिन कोठे भवन सहित उपल्लो तलमा सभा हल निर्माण गरिने भएको छ । एक करोड ४५ लाख लागतमा निर्माण गर्न लागेको वडा कार्यालयको जिम्मा महारानी कन्ट्रक्सनले पाएको छ । ३० महिना भित्र भवन निर्माण कार्य सम्पन्न गरिने कन्ट्रक्सनले जनाएको छ ।