खाएर नै चोट हजार ठाम
द्यौता बनी पत्थर पुग्छ धाम
यस्ता कुराबाट सिकेर पाठ, परोस् समस्या नबनौँ हतास।१
छ बन्द बाटो यदि एकतर्फ
अवश्य खुल्नेछ नयाँ तसर्थ
गन्तव्यमा पुग्न गरौंं प्रयास, कोही नहौँ जीवनमा निरास।२
संघर्ष हो सिद्धि दिने तमाम
सङ्कल्पकासाथ गरौँ न काम
बुझौँ स्वयंकै शुभ कर्मबाट, बन्नेछ छुट्टै पहिचान खास।३
गर्दा नसक्ने कुन काम हुन्छ?
बेकार मान्छे भयभीत बन्छ
विवेकको सिन्धु मनुष्य नै हो, चिनौँ सबैले प्रतिभा स्वयंको।४
पर्ने हुँदा सङ्गतको प्रभाव
कदापि साथी नचुनौँ खराब
हिँडौँ सधैँ सत्य कुरा बुझेर, विश्वासमा घात नहोस् भनेर।५
सत्साधनामा मन चित्त लागोस्
सदा सकारात्मक भाव जागोस्
अपार होस् मानवता सबैमा छ, जन्मको सार्थकता यसैमा।६
गङ्गा आचार्य सापकोटा ,बागलुङ हाल -काठमाडौं