सन्दिप लाई पछ्याउँदै छन् करण, पछि पार्लान त ओमान भ्रमणमा

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


मनिष कँडेल , बागलुङ / हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि नेपाली बलरले ५० विकेट पूरा गर्न सकेका छैनन् । २०२२ को फेब्रुअरी सुरूवातसम्म नेपालका लागि सर्वाधिक टी-२० विकेट लिने सूचीको शीर्ष स्थानमा कप्तान तथा स्पिनर सन्दीप लामिछाने छन् । उनले २५ खेलमा ६.८१ को इकोनमीमा सर्वाधिक ४७ विकेट लिएका छन् । त्यसक्रममा सन्दीपले दुई ओभर मेडन दिएका छन् ।

उनले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलमा चार/चार विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ २० रन दिएर ४ विकेट लिनु हो । आसन्न ओमान भ्रमणमा उनीसँग सर्वाधिक छिटो र ५० विकेट लिने पहिलो बलरको कीर्तिमान बनाउने मौका छ ।

कप्तान भएकाले सन्दीपले नियमित प्लेइङ-११ मा मौका पाउने सम्भावना प्रवल छ । जसकारण पनि उनले नै नेपालका लागि सबैभन्दा पहिले ५० विकेट लिने बलरको कीर्तिमान बनाउन सक्छन् । सन्दीपलाई पछ्याइरहेका अलराउन्डर करण केसी पनि धेरै टाढा भने छैनन् । उनले ३३ खेलमा ७.३८ को इकोनमीमा ४४ विकेट लिइसकेका छन् ।

नेपालका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका करण पनि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा अगाडि ५० विकेट लिने बलर बन्न सक्छन् । उनले पनि हालसम्म टी-२० मा दुई खेलमा चार/चार विकेट हात पारेका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा करणको उत्कृष्ट बलिङ ४ ओभरमा १७ रन दिएर ४ विकेट लिनु हो ।

सन् २०१४ मा टी-२० मा डेब्यू गरेका उनले हालसम्म यो प्रारूपमा दुई ओभर मेडन फ्याकेका छन् । टी-२० मा सर्वाधिक विकेट लिने मामलामा अर्का अलराउन्डर सोमपाल कामी तेस्रो स्थानमा छन् । उनले हालसम्म ३३ खेलमा ३१ विकेट लिएका छन् ।

नेपालले विश्वकप छनोटअघि आयरल्याण्ड, यूएई र ओमानविरुद्ध टी-२० सिरिज खेल्नेछ । यो सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध ११ फेब्रुअरीमा खेल्नेछ । यस्तै, दोसो खेलमा नेपालले यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल १२ फेब्रुअरीमा हुनेछ । नेपालले १४ फेब्रुअरीमा टेष्ट टोली आयरल्याण्डको सामना गर्नेछ ।

यो सिरिजपछि नेपालले विश्वकप छनोट खेल्नेछ । सो प्रतियोगिताको समूह ‘२’ मा रहेको नेपालले पहिलो खेल १८ फेब्रुअरीमा आयोजक ओमानविरुद्ध खेल्नेछ । नेपालले दोस्रो खेल १९ फेब्रुअरीमा फिलिपिन्सविरुद्ध खेल्नेछ । तेस्रो खेलमा नेपालले क्यानाडाको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल २१ फेब्रुअरीमा हुनेछ ।

ग्रुप ‘१’ मा यूएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन् । समूह चरणको खेलपछि दुवै ग्रुपबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल २२ फेब्रुअरीमा हुने छन् । फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा यही वर्षको १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने टी-२० विश्वकपमा छनोट हुनेछन् । नेपाल २०१४ यता विश्वकपमा छनाेट हुन सकेकाे छैन ।

ओमान भ्रमणका लागि नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम ।