बागलुङका ज्येष्ठ नागरिकलाई बुस्टर डोज, सक्रिय संक्रमितको संख्या ४ सय ३३

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई शुक्रबारदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५ सय जनाले खोपको थप मात्रा पाउने छन् ।
खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । खत्रीका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ ।
खत्रीले सरकारी नीतिअनुरुप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताउनुभयो । पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीको भनाई छ ।
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले भने शुक्रबार र मंगलबार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ । अरु स्थानीय तहले पनि स्थानीय अनुकुलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ् ।
खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले पछिल्लो लहरमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको संख्या न्यून रहेको बताउनुभयो ।
यसै गरी बागलुङ जिल्लामा सक्रिय संक्रमितको सँख्या ४ सय ३३ मा झरेको छ । जिल्लामा केहि साता अगाडि भन्दा पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै जान थालेको हो ।
केहि साता पहिले करिव ६ सयको हाराहारीमा पुगेको सक्रिय संक्रमितको संख्या पछिल्लो समय घटेर ४ सय ३३ मा झरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७३ जना आइसोलेशन मुक्त भएसंगै सक्रिय संक्रमितको सख्या पनि घटेको हो ।
यो अवधिमा सवैभन्दा बढि बागलुङ नगरपालिकाका ४० जनाले कोरोना जितेर संक्रमण मुक्त भएका छन् भने बरेङ गाउँपालिकाका ५, गल्कोट नगरपालिकाका १३, तमानखोला गाउँपालिकाका ७, ताराखोला गाउँपालिकाका १ र अन्य ७ गरि ७३ जना संक्रमण मुक्त भएको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
यसैगरि २४ घण्टाको अवधिमा पिसीआर परिक्षणका क्रममा १ र एन्टीजेन परिक्षणका क्रममा २१ जना गरि २२ जनामा कोरोना देखिएको घिमिरेले बताउनुभयो । पिसीआर परिक्षणको क्रममा अन्य १ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका ९, गल्कोट नगरपालिकाका ८ र बरेङ गाउँपालिकाका ३ र ताराखोला गाउँपालिकाका १ गरि २२ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताउनुभयो । हाल जिल्लामा बागलुङ नगरपालिकामा सवैभन्दा बढि २ सय १४ र सवैभन्दा कम बडिगाड गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।