पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’

-


     कालिका दर्शन     
     माघ २१ गते २०७८ मा प्रकाशित


कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलो पटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ ।
कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको हो । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीले ‘स्काई साइक्लिङ’का लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको बताउनुभयो ।
क्याफे’ मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको उहाँले बताउनुभयो । टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्ड्याइएको जानकारी दिदै उहाँले त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने वेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउने बताउनुभयो ।
बन्जी सहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको उल्लेख गर्दै उहाँले सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेको बताउनुभयो ।
कालीगण्डकी नदीको सातो जाने भीरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको उहाँको बिश्वास रहेको थियो । कालीगण्डकी नदीको सतहबाट २ सय २८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का सञ्चालक युवराज जोशीले बताउनुभयो ।