आज सरस्वती पूजा

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।
आज विद्याकी देवीको पूजा गरिने दिन । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । विद्यारज्ञानरशिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ

सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ। विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् । कोभिड सङ्क्रमण जोखिमका कारणले अधिकांश विद्यालयहरू अनलाइन पद्धतिमा चलिरहेका छन्, यस वर्ष भौतिक रुपमा विद्यालयहरू बन्द छन् ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। विद्यालयहरूमा त आज विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको आजको दिनमा विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो ।

सरस्वती पूजाले एउटा नयाँ शिक्षण पद्धति मार्फत हुर्किरहेका पुस्तालाई ज्ञान र अनुशासनको पैरवी गरिरहेको छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।
आजको दिनलाई बौद्ध धर्मावलम्बीले सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्छन् ।वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज अनि किंवदन्तीहरूमा पाइन्छ ।