‘ओमान टूर’ मा सर्वाधिक रन बनाउन सक्ने चार नेपाली ब्याटर

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


मनिष कडेल,बागलुङ /नेपाली सिनियर क्रिकेट टोलीले २०१४ यता आईसीसी टी २० विश्वकप खेल्न पाएको छैन । नेपालले सात वर्षको अवधिमा विश्वकप छनोट खेल्ने मौका पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । योबीचमा नेपाली टिमले आफूभन्दा कमजोर टोलीले पनि विश्वकप खेलेको दृश्य हेर्दै चित्त बुझायो ।

सात वर्षको अवधिमा जब जब विश्वकप छनोट प्रतियोगिता आउँथ्यो त्यतिबेला नेपाली टिमले खराब प्रदर्शन गर्‍यो । यसपालि पनि त्यही गल्ती दोहोर्‍याएमा दोस्रोपटक विश्वकप खेल्ने नेपालको सपना धकेलिन सक्छ । अघिल्लो विश्वकप छनोट खेल्ने र आसन्न छनोट प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिममा धेरै परिवर्तन देख्न सकिन्छ ।

अहिले नेपाली टिम युवा खेलाडीले भरिपूर्ण छ । उनीहरूले टी २० मा प्रदर्शन पनि सन्तोषजनक नै गरिरहेका छन् । ओमान भ्रमणमा पनि युवा खेलाडीबाट समर्थकले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् । यो भ्रमणअन्तर्गत नेपालले टी २० विश्वकप छनोट ‘ए’ प्रतियोगितासहित चारदेशीय सिरिज पनि खेल्नेछ ।

ओमान टूरमा नेपालले फाइनल पनि खेल्ने मौका पाएमा कूल ८ म्याच खेल्नेछ । नेपालले चारदेशीय सिरिजअन्तर्गत पहिलो खेल ११ फेब्रुअरीमा ओमानविरुद्ध खेल्ने तालिका छ । त्यस्तै, दोस्रो खेलमा नेपालले यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल १२ फेब्रुअरीमा हुनेछ ।

यो सिरिजको अन्तिम खेलमा नेपालले १४ फेब्रुअरीमा आयरल्याण्डविरुद्ध खेल्ने छ । सिरिजलगत्तै नेपालले टी२० विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्रुप ‘२’ ओमान, फिलिपिन्स र क्यानडाको सामना गर्नेछ ।विश्वकप छनोटमा नेपालले पहिलो खेल १८ फेब्रुअरीमा आयोजक ओमानविरुद्ध खेल्नेछ । त्यस्तै, नेपालले १९ फेब्रुअरीमा फिलिपिन्स र २४ फेब्रुअरीमा क्यानडाको सामना गर्ने तालिका छ ।

यो ग्रुपको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बढी छ । समूह २ मा नेपालको मुख्य प्रतिस्पर्धी टिम ओमान हो । यदि ओमानलाई हराउन सके नेपालले क्यानडालाई पनि पराजित गर्न सजिलो हुनेछ । समूह ‘१’ मा आयरल्याण्ड, यूएई, बहराइन र जर्मनी छन् ।

यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा जाने छन् । सेमिफाइनलबाट फाइनलमा पुग्ने दुई टिम यही वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्ने छन् । दोस्रोपटक विश्वकप खेल्ने हो भने नेपाली खेलाडीले यसपालि उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । विपक्षी टिम पनि कमजोर नरहेकाले चलाखीपूर्ण रणनीतिका साथ खेलाडीले प्रदर्शन गर्नु पर्नेछ।

ओमान भ्रमणमा सर्वाधिक रन बनाउन सक्ने चार नेपाली ब्याटर

१. आशिफ शेख : नेपाली टिमका युवा ब्याटर आशिफ शेखले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेपछि उनले थप उत्कृष्ट प्रदर्शन गरिरहेका हुन् । हालै सकिएको प्रधानमन्त्री कपमा आसिफले सर्वाधिक रनसमेत बनाएका थिए ।

उनले सो प्रतियोगितामा ६ खेलमा दुई अर्धशतसहित सर्वाधिक २२७ रन बनाएका थिए । शानदार लयमा रहेका २१ वर्षीय आसिफले ओमान भ्रमणमा पनि सर्वाधिक रन बनाउन सक्छन् । हालसम्म उनले नेपालका लागि ६ एकदिवसीय र पाँच टी २० म्याच खेलेका छन् ।

२. कुशल भुर्तेल : २५ वर्षीय अर्का ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले पनि लगातार समर्थकको मन जितिरहेका छन् । डेब्यू सिरिजमै चार अर्धशतक बनाउने उनले ओमान भ्रमणमा पनि निराश नबनाउनेमा समर्थक आशावादी छन् । जनवरीमा भएको प्रधानमन्त्री कपमा पनि कुशलको ब्याट चलेको थियो ।

उक्त प्रतियोगितामा उनले ४ खेलमा १४३.३० को स्ट्राइकरेटमा १८२ रन बनाएका थिए । हालसम्म कुशलले नेपालका लागि ६ एकदिवसीय र पाँच टी २० म्याच खेलेका छन् । ५ खेलमै २७८ रन बनाइसकेका उनी ओमान भ्रमणमा सर्वाधिक रन बनाउन पनि सक्छन् । ओपनिङ ब्याट्सम्यान भएकाले कुशलले यो उपलब्धि हासिल गर्ने सम्भावना पनि छ ।

३; दीपेन्द्रसिंह ऐरी : टिमका पूर्व उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीबाट पनि समर्थकले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन् । उनी नेपालका लागि उमेर समूहदेखि नै राम्रो प्रदर्शन गर्ने ब्याटर हुन् । मध्यक्रममा ब्याटिङ गर्ने ऐरीले पछिल्लो समय घरेलु क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

राम्रो लयमा देखिएका उनले पनि ओमान टूरमा नेपालका लागि सर्वाधिक रन बनाउन सक्छन् । हालसम्म २२ वर्षीय ऐरीले २६ टी २० र १० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका छन् ।

४. ज्ञानेन्द्र मल्ल : ओमानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राम्रो प्रदर्शन गर्दै आएका छन् । यसपालि पनि उनीबाट ओमान टूरमा उत्कृष्ट प्रदर्शनको आशा राखिएको छ । हाल कप्तानीको कुनै दबाब नरहेकाले पनि मल्लको प्रदर्शनमा सुधार देख्न पाइने सम्भावना छ ।

ओमान भ्रमणमा जान लागेका सर्वाधिक अनुभवी ब्याटरमध्ये एक उनी चलेमा टिमलाई ठूलो फाइदा हुनेछ । लयमा देखिए मल्ल एक्लैले पनि टिमलाई जित दिलाउन सक्छन् । एक शतक बनाइसकेका उनी टी २० मा नेपालका लागि सर्वाधिक रन बनाउने दोस्रो ब्याटर पनि हुन् । हालसम्म मल्लले ३३ टी २० म्याचमा १२६.९८ को स्ट्राइकरेटमा ६७३ रन बनाएका छन् ।