
नेपाली क्रिकेट टोली ओमान भ्रमणका लागि जाने भएको छ । विश्वकपको ग्लोबल छनोट र चारदेशीय सिरिज खेल्न नेपाली टोली मंगलबार ओमान जान लागेको हो ।
विश्वकपको ग्लोबल छनोटअघि आयोजक ओमान, नेपाल, युएई र आयरल्यान्डबीच चारदेशीय सिरिज हुने भएको छ । सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी ११ तारिखमा खेल्ने भएको छ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध फेब्रुअरी १२ तारिखमा खेल्ने अन्तिम खेल आयरल्यान्डविरुद्ध फेब्रुअरी १४ मा खेल्ने तालिका रहेको छ । कोरोना भाइरसका कारण टोलीमा खेलाडी थपिन सक्ने सम्भावना बढेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
यसअघि नेपालले चारदेशीय सिरिज तथा आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ जनाको टिम घोषणा गरेको थियो । टोलीमा खेलाडी थप्ने विषयमा छलफल भइरहेपनि टुंगो लाग्न बाँकी रहेको क्यानले जनाएको छ ।
त्यसैगरी, विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणमा क्यानाडा, आयोजक ओमान र फिलिपिन्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी १८ तारिखमा खेल्नेछ । नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध १९ तथा तेस्रो खेल क्यानाडाविरुद्ध २१ तारिखमा हुने भएको छ ।