पर्वतको जलजला गाउँपालिकाद्धारा ढुङ्गा कटिङ उद्योगलाई बैधता

-


     कालिका दर्शन     
     माघ २५ गते २०७८ मा प्रकाशित


पर्वतको जलजला गाउँपालिकाले ढुङ्गा कटिङ उद्योगलाई बैधता दिएको छ । गाउँपालिकाकाले उद्योगलाई बैधता दिएर कानुन र करको दायरामा ल्याएको हो ।
ब्यक्तिगत जग्गाबाट हुने ढुङ्गा उत्खनन, कटिङ र निकासीका लागि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याएको गाउँपालिकाले जनाएको छ । ‘स्लेट ढुङ्गा उत्खनन तथा कटिङ ढुङ्गा उद्योग सञ्चालन कार्यविधि २०७८’ कार्यान्वयनमा आएपछि कर र कानुनी दायरामा आएको गाउँपालिकाको राजस्व अधिकृत लीलाधर सुबेदीले बताउनुभयो ।
दर्ता र करको दायरामा नआउँदा उत्खनन र निकासी गर्दा ब्यवसायीले धेरै झञ्जट, दुख तथा बिचौलियाको सहयोग लिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले दस्तुर तिरेर उद्योग दर्ता गर्न पाउने कानुन बनेपछि गाउँपालिकाको आयस्रोत बढ्नुका साथै ब्यवसायले बैधता पाउनुका साथै ब्यवसायीलाई सहज भएको बताउनुभयो ।
जलजला गाउँपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडाका ११ ठाउँमा ढुङ्गाखानी रहेको र ९ वटा ढुङ्गाखानी ब्यक्तिगत पाखोबारीमा भएको सुवेदीले जानकारी दिनुभयो । जलजलाका माझफाँट, बाँसखर्क, शालिजा, बनौ, लेखफाँट लगायत यसअघि पनि स्लेटखानी उत्खनन् गरिए पनि दर्ता प्रक्रिया नपुगेको भन्दै पालिकाले रोक लगाएको थियो ।
गाउँपालिकाबाट अनुमति लिएर ढुङ्गा कटिङ उद्योग सञ्चालन गर्न पाउने जलजलाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । पहिलो चरणमा ब्यक्तिगत जग्गाबाट ढुङ्गा उत्खनन् र कटिङ गर्ने उद्योग दर्ता गर्न गाउँपालिका र उद्योगीहरुबीच सम्झौता भएको उहाँको भनाई थियो ।