विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन बागलुङको ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ ।
कक्षा १ देखि ५ सम्मलाई लक्षित गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।
पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविता कुमारी केसीले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ ।
स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले विज्ञसहितको परामर्शमा पाठ्यक्रम निर्माण गरिएको बताउनुभयो ।
घर्तिकै संयोजकत्वमा गठित स्थानीय पाठ्यक्रम निर्माण प्राविधिक कार्यदलले पाठ्यक्रमलाई अन्तिम रुप दिएको हो । घर्तीले आधारभूत तहमा पढ्ने बालबालिकाको सिकाई प्रक्रियालाई स्थानीयकरण गर्न पाठ्यक्रमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
भूगोल, इतिहास, संस्कृति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ । पाठ्यक्रमको सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विमोचन गर्नुभएको थियो ।