कोभिड–१९ सङ्क्रमणको जोखिमले महिना दिनदेखि बन्द रहेका बागलुङका शैक्षिक संस्था आउँदो फागुन १ गतेदेखि संचालन हुने भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनस्वास्थ्य मापदण्ड पालना गरी विद्यालय, क्याम्पस, ट्युसन केन्द्र लगायत सबैखाले शैक्षिक क्रियाकलाप सञ्चालन गर्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले फागनु १ गतेदेखि शैक्षिक संस्था सञ्चालन गर्न पाइने गरी आदेश जारी गरेको छ ।
१२ वर्षमुनिका बालबालिकाले पढ्ने कक्षा सञ्चालन गर्दा भने आलापालो प्रणाली अपनाउन प्रशासनले अनुरोध गरेको छ । उक्त उमेर समूहका बालबालिकाले कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण आलापालो प्रणाली अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।
विद्यार्थी सङ्ख्या हेरेर सम्बन्धित स्थानीय तहको समन्वयमा विद्यालयले आलोपालो गरी कक्षा सञ्चालन गर्नसक्ने उहाँको भनाई थियो । सबै तहका रोकिएका परीक्षा पनि जनस्वास्थ्य मापदण्ड अपनाई सोही मितिदेखि गर्न सकिने आदेशमा उल्लेख छ । केन्द्रले कोभिड–१९ को घट्दो जोखिमलाई दृष्टिगत गरी यसअघि लगाइएका प्रतिबन्धलाई पनि केही खुकुलो पारेको छ ।
चलचित्र घर, जिमखाना, फुटसल पनि राति १० बजेसम्म खोल्न पाइने भएको छ । होटल, रेष्टुराँ लगायतका व्यापार, व्यवसाय पनि जनस्वास्थ्य मापदण्ड पालना गरी निर्वाधरूपमा सञ्चालन हुने भएका छन् । यसअघि किनमेल केन्द्रमा एकपटकमा २५ जनाभन्दा बढी छिर्न नपाइनेमा अहिले त्यो सङ्ख्या बढाएर ५० पु¥याइएको छ । पार्टी प्यालेस पनि आधा क्षमतामा सञ्चालन गर्न पाइने गरी प्रावधान खुकुलो पारिएको छ ।