बागलुङ बसपार्क प्रयोग विहिन

-


     कालिका दर्शन     
     माघ २७ गते २०७८ मा प्रकाशित


काम सकिएको एक वर्ष पुग्न लाग्दापनि बागलुङमा निमार्ण भएको आधुनिक बसपार्क प्रयोगविहीन भएको छ ।
झन्डै २० वर्ष अघिदेखिको योजना अनुसार बागलुङ बसपार्क निर्माण भएपनि बसपार्क जाने सडकका लागि जग्गामा किचलो परेकाले प्रयोग बिहिन भएको हो । बसपार्क जाने मुख्य सडक नै नभएपछि बस, जिप र ट्यांक्सी पार्क गर्नुपर्ने स्थानमा पशुबस्तु र मानिसको जमघट हुने गरेको छ ।
बागलुङ नगरपालिका–४ मा रहेको बसपार्क बनाउन स्थानीयले निःशुल्क जग्गा दिएको र जग्गा दिएका उपभोक्ताले कम्तीमा एक÷ एकवटा घडेरी समेत पाउने सर्त भएपनि पूरा नभएपछि समस्या सिर्जना भएको स्थानीय नन्दलाल सापकोटाले बताउनुभयो ।
सहमती अनुसार जग्गा पाउनुको साटो उपभोक्ताले जग्गा बिक्रीसमेत गर्न नपाएको स्थानियको गुनासो रहेको सापकोटाले जानकारी दिनुभयो । नगरप्रमुख जनकराज पौडेलले सडक बनाउन ठेक्का प्रक्रिया सुरु भइसकेको बताउनुभयो । चालु वर्षभित्र सडक बनेर बसपार्क प्रयोगमा आउने उहाँको भनाई थियो ।
सडक निर्माण भएपछि उपभोक्तालाई घडेरी पनि उपलब्ध गराउने पौडेलले प्रतिवद्धता जनाउनुभयो । करिव ११ करोडको लगानीमा आशिष फेवा संयुक्त निर्माण कम्पनीले निर्माण गरेको बसपार्कमा ८० वटा बस राख्न सकिने र त्यसबाहेक झन्डै १ सय बढी घडेरी बनाउने जमिन पनि रहेको नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताउनुभयो ।