गण्डकी प्रदेशको लोकप्रिय निर्णय, प्रदेशभर निःशुल्क रगत

-


     कालिका दर्शन     
     माघ २८ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेश सरकारले प्रदेशभर रगत निःशुल्क गराएको छ । प्रदेश सरकारले रगतका लागि कसैले पनि रकम तिर्नु नपर्ने गरि निशुल्क गराएको हो ।
रगत खरिदबिक्री नहुने भएपनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकोमा अब त्यसको खर्च पनि सरकारले नै व्यहोरिदिने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
सरकारले फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता खड्काको भनाइ थियो । रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौताको तयारी भएको र सम्झौतापछि निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ मन्त्रिपरिषदबाट पारित भएसंगै सरकारले रगत निशुल्क गर्न लागेको हो ।
कार्यविधिमा रगत तथा रगतजन्य सेवा प्रदान गर्ने संस्थाले अस्पतालमा उपचाररत व्यक्तिलाई आवश्यक पर्ने रगत, रगत राख्ने झोला, रगत परीक्षण निःशुल्क रुपमा गर्नुपर्ने उल्लेख गरिएको खड्काले बताउनुभयो ।
उपलब्ध गराइएको सेवा शुल्क भुक्तानीका लागि मासिक रुपमा जिल्ला रगत तथा रगतजन्य सेवा व्यवस्थापन समिति मार्फत अस्पताल समक्ष बिल भरपाई पेश गर्ने पनि उल्लेख गरिएको छ ।