
देशभरका शैक्षिक संस्थामा आइतबारदेखि भौतिक उपस्थितमा पठनपाठन हुने भएको छ । बिद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालय संचालन गर्ने सम्बन्धमा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरुमा शुक्रबार पत्राचार गरेको छ ।
कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थिती सहित पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउने भएका छन् ।
सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको हो । विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने’ उल्लेख भएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए ।
