बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सुरु

-


     कालिका दर्शन     
     फागुन १ गते २०७८ मा प्रकाशित


बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सुरु भएको छ । २०७७ फागुनमै गर्नुपर्ने बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटकपटक प्रभावित बन्दै आएको थियो ।
गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रेको काम दुईपटक म्याद थपिसकेको छ । लामो समय कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रेको काम शुक्रबारदेखि सुरु भएको हो
विमानस्थलको ७ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे सक्ने गरी नेपाल नागरिक उड्यन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।
विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रेको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । कोरोना महामारी र वर्षाका कारण पटक–पटक प्रभावित बनेको कालोपत्रेको कामले तीव्रता पाएको थापाले बताउनुभयो ।
कारण धावनमार्गको कालोपत्रे गर्ने काम प्रारम्भ भएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार ठेकदार कम्पनीले कालोपत्रेका लागि अहिले धावनमार्गको भुले उडाउने, बिटामिन छर्ने काम गरिरहेको छ ।
विमानस्थल कालोपत्रेको ठेक्का चैत मसान्तसम्म मात्रै रहेकोे प्राधिकरणले जनाएको छ । विमानस्थलको जम्मा १५ प्रतिशत मात्रै काम बाँकी छ । कालोपत्रेसँगै विमानस्थलको काम सम्पन्न हुनेछ । २६ वर्षदेखि बन्द रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनःसञ्चालन आएको थियो ।