मोदी गाउँपालिकाद्धारा सुत्केरीलाई २५ सय भत्ता

-


     कालिका दर्शन     
     फागुन १ गते २०७८ मा प्रकाशित


पर्वतको मोदी गाउँपालिकाले पालिकाभित्रका सुत्केरीहरुलाई २ हजार ५ सयका दरले भक्ता उपलव्ध गराएको छ ।
२० वर्षभन्दा सानो उमेरमा हुने विवाह र आमा बन्ने क्रमलाई शून्यमा झार्नको लागि पर्वतको मोदी गाउँपालिकाले भने ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरिरहेको पालिकाले पालिकाभित्रका सुत्केरीहरुलाई भत्ता उपलव्ध गराएको हो ।
२० वर्ष उमेर पूरा भएपछि बच्चा जन्माएका आमा र उनीहरूका बच्चाको पोषणको अवस्थामा सुधार ल्याउनको लागि प्रतिआमा २ हजार ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो ।
भत्ताको लागि उमेरको मापदण्ड सहित कुनै पनि सरकारी जागिर नभएको, नियमित रूपमा चार पटक गर्भ जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने नियम राखिएको उहाँको भनाई थियो ।
२० वर्ष उमेर पार गरेको, नियमित रूपमा चार पटकसम्म गर्भको जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माएर जन्म प्रमाणपत्र लिएको र कुनै प्रकारको सरकारी सेवामा नरहेको व्यक्ति भएमा मात्र भत्ता दिने व्यवस्था गरिउको क्षेत्रीले जानकारी दिनुभयो ।
‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने भनाइलाई आधार मानेर दुई भन्दा बढी सन्तान जन्माएको अवस्थामा भने यो कार्यक्रमले आमाहरूलाई सम्बोधन नगर्ने प्रशासकीय अधिकृत क्षेत्रीको भनाई छ । गाउँपालिकाका उपाध्यक्ष सेती महतले चालु आर्थिक वर्षको हालसम्म एक सय २१ जनालाई तीन लाख रुपैयाँ बाँडिएको बताउनुभयो ।