
जिल्ला प्रशासन कार्यालय बागलुङले विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि फाराम संकलन सुरु गरेको छ ।
प्रशासनले पहिलोपटक ई–पासपोर्टका लागि फाराम संकलन गर्न थालेको हो । बागलुङमा १ मंसिरदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को फारम संकलन कार्य स्थगित गरिएको थियो ।
मंसिर १५ सम्मका लागि स्थगित राहदानी फाराम संकलन कार्य ई–पासपोर्टको फाराम संकलन प्रविधि जडान गर्न ढिला हुँदा ढिलाई भएको हो । अब नियमित रूपमा फारम संकलन गरी विभागको सिस्टममा अपलोड हुने जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख तेजराज गौतमले जानकारी दिनुभयो ।
एमआरपीका लागि दैनिक २०–२५ फाराम संकलन भएपनि ई–पासपोर्टको संख्या त्यही मात्रामा गर्न कठिन हुने उहाँको भनाइ थियो । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुने गरी तयार पारिएको छ ।
सरकारले १ मंसिरदेखि ई–पासपोर्ट लागू गरेसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । २८ मंसिरदेखि एमआरपी वितरण बन्द भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले विद्युतीय राहदानी प्रचलनमा ल्याएको हो ।