जैमिनीका सबै टोलमा बाह्रै महिना यातयात चल्ने

-


     कालिका दर्शन     
     फागुन २ गते २०७८ मा प्रकाशित


चार वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिका कार्यालयदेखि वडा कार्यालय पुग्न कठिन थियो । स्वास्थ्य चौकी र विद्यालय रहेको स्थानमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यतालाई जैमिनी नगरपालिकाले अन्त्य गरिदिएको छ ।
नगरपालिकादेखि सबै वडा कार्यालयहुँदै जैमिनीका विद्यालय र स्वास्थ्य संस्थामा अहिले सवारी साधन चढेर सजिलै पुग्न सकिन्छ । ‘भैपरी आउने समयबाहेक अब कुनै पनि वडा र स्वास्थ्य संस्थामा सजिलो बाटो पुगिन्छ’, जैमिनीका योजना अधिकृत प्रेमप्रसाद सापकोटाले भन्नुभयोे, ‘जनप्रतिनिधि आएपछिको योजना र लक्ष्यले सफलता मिलेको हो ।’
जनप्रतिनिधि आउनुअघि नगरपालिकामा २ सय ४७ किलोमीटर कच्ची सडक थियो । चार वर्षमा १ सय ३१ किलोमीटर नयाँ ट्रयाक खोलेर झण्डै ३ सय किलोमीटर स्तरीयसमेत बनाइएको सापकोटाले जानकारी दिनुभयो । यी सडकको सञ्जाललाई पालिकाले दिगो सडक योजनाको नाम दिएको छ ।
‘नगरपालिकाभित्रका १२ सडक सञ्जाललाई दिगो सडकको नाम दिएका हौँ, सबै वडामा एकएक र भूगोलले अप्ठ्यारो परेका दुई वडामा थप सडक छन्’, नगरप्रमुख इन्द्रराज पौडेलले भन्नुभयोे, ‘कालीगण्डकी लोकमार्गमा पनि सहज पहुँचको व्यवस्थापन पुगेको छ ।’
कुश्मीसेरा बजारदेखि राङखानी, नाम्दुकहुँदै बरेङ जाने सडक भने रणनीतिक सडकमा सूचीकृत छ । यो सडकलाई कालोपत्रे गरेर गुल्मीसम्म जोड्ने गण्डकी प्रदेश सरकारको बजेट र कार्यक्रममा उल्लेख छ । उक्त खण्डमा भने प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पनि केही लगानी गरिसकेको छ ।
यसबाहेक सुन्तलाचौर दमेक हुँदै गाजाको दह जाने सडक, बेलबगरदेखि छिस्तीको वडा कार्यालय, स्वास्थ्यचौकी तथा केवै, जैदिको बोर, जैदी र धुल्लु तर्फका सडक, कुश्मीसेरादेखि बिनामारे अर्जेवा र सर्कुवातर्फका सडकस्तरीय भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनुभयो ।