आज माघ शुक्ल पूर्णिमा, श्रीस्वस्थानी ब्रत समापन गरिदै

-


     कालिका दर्शन     
     फागुन ४ गते २०७८ मा प्रकाशित


पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि विधिवत समापन हुँदैछ ।हरेक दिन नछुटाइ पढ्ने र सुन्ने गरिएको स्वस्थानी ब्रतकथाको समापनका लागि अन्तिम दिन साङ्गे गरिन्छ । स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनौ साङ्गे गर्ने चलन छ ।
एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने गरिन्छ
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवीको रुपमा पुजिदै आएको छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा छ ।
श्री स्वस्थानी व्रतकथामा महादेव, सतीदेवी, पार्वती तथा गोमा ब्राम्हणीको विशेष कथा पाइन्छ । संसार तथा मानव ,दानव तथा देवताको उत्पत्तिको कथा पाइन्छ । स्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुख्ख अनि दक्ष प्रजापतीको दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरैकुराहरु उल्ल्ेख गरिएको छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन छ । व्रतको प्रभावले बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।
धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ । आज विधिवत् रूपमा व्रत बसी श्री स्वस्थानीको अन्तिम कथा वाचन तथा श्रवण गरिन्छ, पूजा गरिन्छ । अन्तमा प्रसाद बाँडिन्छ । भोलिपल्ट बिहानै विधि अनुसार नै फूलपातीहरू नदीमा बहाइन्छ ।स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमे अन्तर्गत कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य हुदै छ ।