व्यक्तिगत बेरुजु हुने जनप्रतिनिधिले उम्मेदवार बन्न नपाउने

-


     कालिका दर्शन     
     फागुन ४ गते २०७८ मा प्रकाशित


आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले तय गरेको आचारसंहिताको मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगका अनुसार उम्मेदवारी दर्ता गर्दा सम्बन्धित व्यक्तिले व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गरेको पत्र पनि साथै पेश गर्नुपर्ने भएको छ ।
स्थानीय तहलाई पारदर्शी र सुशासनमैत्री बनाउने प्रयासका लागि यस्तो प्रावधान राख्न लागिएको आयोगका अधिकारीहरुको भनाई रहेको छ । कुनै उम्मेदवारले यो प्रावधानअनुसार स्वघोषणा नगरे उम्मेदवारी खारेजसम्म हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
पूर्वसचिव कृष्णहरि बास्कोटाका अनुसार जनप्रतिनिधिले भ्रमणसहित विभिन्न प्रयोजनमा पेश्की लिएर फर्छ्यौट नगर्दा व्यक्तिगत बेरुजु रहने गर्छ र त्यस्ता बेरुजु फर्छयौटमा पनि समस्या हुने गरेको छ । निर्वाचन आयोगले उम्मेदवार हुनुअघि व्यक्तिगत बेरुजु र पेश्की नरहेको स्वघोषणा गर्नुपर्ने प्रावधान राख्नु उचित भएको उहाँको भनाई छ ।
यसैबीच, आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ र, सोही अनुसार चुनाव चिहृन प्रदान गर्ने भएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जितेका दलहरुलाई मात्रै राष्ट्रिय दलको मान्यता पाउने उल्लेख गरिएको छ ।