हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

-


     कालिका दर्शन     
     फागुन ५ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लामा १३ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
१२ आँै पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३ औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ । जिल्लाका दशवटै स्थानीय तहले फागुनको १५ गतेदेखि अभियानअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छन् ।
हात्तीपाइलेको प्रारम्भिक खोजीका क्रममा जाँच गरिएकामध्ये २ दशमलव ४६ प्रतिशतमा सङ्क्रमण देखिएकाले आम औषधि सेवन अभियान १३ औँ पटक सञ्चालन गर्नुपरेको हो । २०७७ माघ महिनामा आम औषधि सेवन अभियान सञ्चालन पूर्व गरिएको परीक्षणमा १० जनामा पुनः संक्रमण देखिएको थियो ।
त्यसयता गत चैतमा एक पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको छ । इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले सङ्क्रमितको दर २ प्रतिशतभन्दा कम नआएमा लगातार दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरेर औषधि खानुपर्ने उल्लेख गरेको छ ।
बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा ८ जना र कुश्मीशेरामा दुई जनामा सङ्क्रमण फेला परेको थियो । दुवै ठाउँमा तीनसय जनामा परीक्षण गरिएको थियो । आम औषधि सेवन कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने भएको छ ।
परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कम मानिसमा संक्रमण देखिएको अवस्थामा मात्रै यो आम औषधि खाने अभियान सञ्चालन गर्नु नपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।