गण्डकी सरकारद्धारा महावीर पुनलाई ‘गण्डकी रत्न’ घोषणा

-


     कालिका दर्शन     
     फागुन ५ गते २०७८ मा प्रकाशित


राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उहाँले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।
‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसक्नुभएका उहाँले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत सो सम्मान अर्पण गर्न लागिएको हो ।
गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । प्रदेशको सबैभन्दा ठूलो विभूषणका रूपमा ‘गण्डकी रत्न’ लाई लिइन्छ । प्रदेश सरकारको स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा उहाँलाई सो सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।
पुनले विज्ञान र प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले उहाँलाई नै यस वर्षको गण्डकी रत्न दिने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले जानकारी दिनुभयो प्रत्येक वर्ष तीन जनालाई गण्डकी रत्नबाट विभूषित गर्ने भनिएको भए पनि यो पहिलो वर्षमा एक जनालाई मात्रै विभूषित गरिने भएको उहाँको भनाई थियो ।
प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गत माघ चार गते सूचना जारी गर्दै सम्मानको दाबी गर्नेहरूबाट आवेदनको आह्वान गरेको थियो । यस क्रममा भाषा, साहित्य, खेलकूद, पर्यटन, समाज सेवा, संस्कृति, उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका आठले आवेदन दिएका थिए ।