उद्यमीलाई सामग्री वितरण

-


     कालिका दर्शन     
     फागुन ६ गते २०७८ मा प्रकाशित


गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले मुलुक परिवर्तनमा उद्यमीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय बागलुङले आयोजना गरेको उद्यमीहरुलाई विभिन्न सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले उद्यमीहरुलाई आवश्यक तालिम र सीपहरु प्रदानका लागि सरकार लागि परेको बताउनुभयो ।
मन्त्री कँडेलले व्यवसायीले उत्पादन गरेका गुणस्तरीय सामानहरु गण्डकी प्रदेश सरकारले पोखरामा संकलन गरेर बजारीकरणका लागि सहयोग समेत गर्ने बताउनुभयो । बिचौलीयाका कारण उत्पादन गर्ने उद्यमीहरु मर्काम समेत भरेको उहाँको भनाई थियो ।
घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका विभिन्न स्थानका उद्यमीहरुलाई विभिन्न किसिमका आधुनिक औजारहरु वितरण समेत गरेको छ । कार्यालयले जुकी मेसिन, ग्रेन्डर मेसिन, ड्रायर मेसिन, फ्रिज लगायतका सामग्री हस्तान्तरण गरेको छ । सामग्री ८० प्रतिशत अनुदानमा उद्यमीलाई प्रदान गरिएको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, उद्यमी, यमप्रसाद कँडेल, लक्ष्मी शाक्य लगायतले बोल्नु भएको थियो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय बागलुङकी प्रमुख गुमादेवी शर्माको अध्यक्षता, यामबहादुर थापा मगरको स्वागत र विष्णुप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।