महान साहित्यकार मोहन बहादुर मल्लको १११ औं जयन्तीको अवसरमा पर्वतको मल्लाज, लुङ्दी मोहन चोकमा शनिबार स्व.मल्लको शालिक अनावरण गरिएको छ । सो शालिक निर्माणका लागि जलजला गाउंपालिकाबाट ५ लाख सहयोग प्राप्त भएको थियो । शालिक स्थापनाका लागि आवश्यक जग्गा प्रकाश बहादुर मल्ल तथा दिप मल्लले निःशुल्क प्रदान गर्नु भएको थियो ।
१९६८ माघ २३ गते जन्मनु भएका मोहनबहादुर मल्लको २०३५ जेठ १७ गते निधन भएको थियो । साहित्यकार मल्लको शालिक निर्माणका लागि दिप मल्ल अध्यक्ष, जिवन केसी सचिव, झुमा मल्ल कोषाध्यक्ष तथा दिल बहादुर हमाल, प्रेम बहादुर रेग्मी, राम बहादुर मल्ल र माया केसी सदस्य रहनु भएको समिति गठन गरिएको थियो ।
सोही अवसरमा मोहन बहादुर मल्ल पुरस्कार कृष्ण प्रसाद पराजुली शिशु, डा.जगन्नाथ रेग्मी र केदारनाथ पौडेललाई नगद २५ हजार प्रदान गरिएको थियो । यसै गरी समारोहमा साहित्यकार काजिरोषनले कालन्जल पत्रीकाको बिमोचन गर्नु भएको थियो ।
जलजला गाउंपालिकाका अध्यक्ष यम बहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार काजिरोषन, मोहन बहादुर मल्ल स्मृति समितिका संरक्षक प्रकाश बहादुर मल्ल र दिपक बहादुर मल्ल,पौलस्य साहित्य संगमका अध्यक्ष कृष्ण बहादुर बानियां, पूर्व शिक्षक मुकुन्द पौडेल, कृष्ण देव पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो । समितिका अध्यक्ष दिप मल्लको अध्यक्षतामा भएको सो कार्यक्रम सचिव अजय मिलन श्रेष्ठले र स्वागत सहसचिव मोहन पौडेलले गर्नु भएको थियो ।
यस क्षेत्रका विशिष्ठ साहित्यकार महोनबहादुर मल्ल जन्मेको स्थललाई मोहन चोक नामाकरण गरी सोही स्थानमा उहांको शालिक राखिएको साहित्यकार काजिरोषनले जानकारी दिनु भयो । २०७६ सालमा मल्लको नाममा संस्था स्थापना गरिएको र हरेक बर्ष विविध कार्यक्रम गरी मल्ललाई सम्झने गरिएको बताउदै रोषनले यस बर्ष शालिक स्थापना सहितका अन्य गतिविधि गरिएको जानकारी दिनु भयो ।