एमसीसी बिरुद्ध बागलुङमा बिरोध प्रदर्शन

-


     कालिका दर्शन     
     फागुन ८ गते २०७८ मा प्रकाशित


बागलुङमा रहेका ६ राजनैतिक दल र मोर्चाहरुले अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध बागलुङमा बिरोध प्रदर्शन गरेका छन् ।
नेपाली जनताको चाहाना बिपरित एमसीसी लागु गर्न खोजिएको र संसदमा टेवल गरिएकोप्रति बिरोध जनाउँदै एमसीसी बिरुद्ध आन्दोलनमा रहेका दल तथा मोर्चाहरुले बागलुङमा पनि बिरोध प्रदर्शन गरेका हुन् ।
बागलुङमा रहेका नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा लगाएतले एमसीसी बिरुद्ध बिरोध प्रर्दशन गर्दै तत्काल खारेज गर्न माग गरेका छन् ।
उनिहरुले अमेरिकी साम्राज्यबादले एमसीसी लागु गराएर आफ्नो स्वार्थका लागि नेपाललाई रणभुमी बनाउन खोजेको, नेपाल र नेपाली जनतालाई दास बनाउन खोजेको र बिकासको नाममा साम्राज्यवादी नीति लागु गर्न खोजेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि भएको कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना, नेपाल कम्युनिष्ट पार्टीका महेन्द्र बिक, नेकपा मसाल बागलुङका प्रवक्ता मेकबहादुर पाइजा र नेकपा क्रान्तिकारी माओवादीका पूर्णबहादुर गुरुङले नेपालको राष्ट्रिय स्वाधिनताका लागि एमसीसी बिरुद्धको आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको संचालन अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव भिमसेन बनले गर्नु भएको थियो । कार्यक्रम शुरु हुनु पूर्व एमसीसी बिरुद्धको नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो ।