माओवादी युद्धका सहिदका नाममा उद्यान

-


     कालिका दर्शन     
     फागुन ८ गते २०७८ मा प्रकाशित


बागलुङको ताराखोला गाउँपालिकाले माओवादी युद्धदाता जीवनोत्सर्ग गर्ने सहिदका नाममा निर्माण गर्न थालेको उद्यानले तिव्रता पाएको छ ।
तत्कालीन माओवादी युद्धमा जीवनोत्सर्ग गर्ने सहिदका नाममा ताराखोला गाउँपालिका–२ अर्गलको गयारमा भन्ने ठाउँमा निर्माण गर्न थालिएको सहिद उद्यानमा संरचना र पूर्वाधार निर्माणले गति लिएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पर्यटनको नमूना योजनाका रुपमा सहिद उद्यानलाई अगाडि बढाइएको बताउनुभयो । पर्यटकीय गन्तव्य स्थलको विकास र प्रवद्र्धनका लागि १६ करोडको लागतमा डिपिआर तयार पारिएको जानकारी दिदै उहाँले सहिद उद्यान पनि त्यसैमा पर्ने भएकाले निर्माणमा चार÷पाँच करोड खर्च हुने आँकलन गरिएको बताउनुभयो ।
यस वर्ष गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट उद्यान विकासका लागि छुट्टाइएको १० लाख र जनश्रमदान समेत गरी कूल ११ लाख १८ हजारको लागतमा पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार २ सय ९१ वर्ग मिटर जमिनमा उद्यानका संरचना बनाइने गाउँपालिकाले जनाएको छ । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालय सहित अन्य पूर्वाधार बन्न बाँकी नै रहेको अध्यक्ष घर्तीले बताउनुभयो ।
उद्यानमा युद्धका बेला ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिने उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले शहीद उद्यान निर्माणले नयाँ पर्यटकीय आकर्षण बढ्ने बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।