आईसीसी टी–२० विश्वकप: नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

-


     कालिका दर्शन     
     फागुन ९ गते २०७८ मा प्रकाशित


अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।
अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुने भएको छ ।
क्यानडा समूह बीबाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ए को विजेता हो ।
दुवै सेमिफाइनल खेल मंगलबार एकै समयमा नेपाली समय अनुसार अपराह्न पौने ४ बजेपछि सुरु हुने भएको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा सोमवार भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा अटआउट हुँदै ८० रनमा सीमित भएको थियो । क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने कमलसिंह ऐरी र अविनाश बोहराले २–२ तथा कुशल मल्लले १ विकेट लिएका थिए ।
यसै गरी, सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।
आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहने भएको छ ।
सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको दुतावासले जनाएको छ । चार समूहमा बिभिन्न क्रिकेट क्लव तथा एकेडेमीको सहभागीता रहने बताइएको छ । चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् ।
पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले क्रिकेटमा युवाहरुको आकर्षण बढाउनका लागि र खेल प्रतिको भावना बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले नेपालको क्रिकेटम पाकिस्तानले गरेको सहयोगको चर्चा गर्नुभयो । प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ भने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने दुतावासले जनाएको छ ।