बडिगाडमा ४० वर्ष माथिका सबैको स्वास्थ्य परिक्षण

-


     कालिका दर्शन     
     फागुन ११ गते २०७८ मा प्रकाशित


बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले पालिकाका ४० वर्ष माथिका सबैको स्वास्थ्य परिक्षण अभियान शुरु गरेको छ ।
बडिगाड गाउँपालिका भरका जनतालाई एकैपटक स्वास्थ्य परिक्षण गर्ने अभियान अन्र्तगत वृहत स्वस्थ्य शिबिर शुरु गरेको हो ।
गाउँपालिकाका सबै नागरिकलाई विशेषज्ञ सेवा दिने, ४० वर्ष माथिकालाई नछुटाईकन मृगौला परिक्षण, पाठेघरको परिक्षण गरिने गरि शिविर शुरु पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शिबिर अवधीभर १३ जना विशेषज्ञ र अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामण्ी कंडेलले जानकारी दिनुभयो ।
फागुन २५ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ । शिविरमा भिडियो एक्सरे, सुगर, पिसाव, प्रोटिन जाँच लगाएत सेवा रहेको र औषधि सहित सवै सेवा निशुल्क हुने गाउँपालिकाले जनाएको छ ।
शिविर अवधीभर ४० वर्ष माथिको सवै नागरिकको मृगौला परिक्षण, ४० वर्ष नाघेका सबै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सबै नागरिकको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य अभियानमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरी नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखिकरण कार्यक्रम, सुनौला हजार दिन भित्रका आमाहरुको भेलामा गर्भवतीहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन समेत गरिने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो ।
गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग तथा बडिगाड गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत जनस्वास्थ्य अभियानमा सम्पूर्ण जाँच निशुल्क हुने पाइजाको भनाई रहेको छ ।