चैतेदशैंमा जापानमा भलिबल प्रतियोगिता हुने

-


     कालिका दर्शन     
     फागुन १२ गते २०७८ मा प्रकाशित


ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा जापानमा बस्ने नेपालीहरुको सस्था बागलुङ समाज जापानले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी अप्रिल ४ तारिकबाट टोकियोमा दोस्रो खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०२२ आयोजना हुनेछ ।

चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना हुन लागेको जनाईएको छ । भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप समितिहरु समेत गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद १ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण पत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।
उक्त प्रतियोगितामा १६ देखि १७ टिमले भाग लिने अनुमान गरिएको छ ।अफिसियल सहित जम्मा १२ खेलाडी टिममा रहन सक्ने छन ।प्रतिस्पर्धा प्रचलित नियम नक आउट सिष्टममा खेलाइने भएको छ ।