उराठ लाग्ने पर्वतको दुर्लुङडाँडाको पहिचान फेरिएको छ । हिमाली एवं पहाडी दृश्यावलोकनको महत्वपूर्ण गन्तव्य मध्येको हालको कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
स्थानीय जागरुकतासँगै दुर्लुङको ऐतिहासिक एवं धार्मिक महत्वको प्रचारप्रसार हुन थालेसँगै विगतको उराठलाग्ने दुर्लुङ यतिखेर मोहोनी लाग्ने गन्तव्य बन्दै गएको छ । धौलागिरिदेखि माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमाली दृश्यलाई एक साथ नियाल्न सकिने यो ठाउँ समुद्री सतहबाट एक हजार ४ सय मिटर उचाइमा छ ।
दुर्लुङबाट देखिने म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत जिल्लाका पहाडी दृश्यले जो–कोहीलाई लोभ्याउने गरेको स्थानीय समाजसेवी एवं दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले बताउनुभयो ।
‘नेपालका बाइसे चौबीसे राजाको पालादेखिको इतिहासको साक्षी दुर्लुङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढेको छ’, शर्माले भन्नुभयो । उहाँका अनुसार दुर्लुङकोटमा मल्लकालीन राजाको दरबार थियो ।
तत्कालीन समयमा दरबार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् । झण्डै ३० वर्षअघि दुर्लङकोट निर्माण गरिएको मन्दिर भूकम्पपछि निर्माण गरिएको हो ।
तत्कालीन प्रतिनिधिसभा सदस्य अर्जुन जोशीले सांसद विकास कोषमार्फत गर्नुभएको १० लाख सहयोगका साथै महायज्ञबाट उठेको रकम गरी १७ लाखको लागतमा मन्दिर निर्माण गरिएको सचिव शर्माले जानकारी दिनुभयो । कोटमा बडादसँैं, चैतेदसँैं, उधौली–उभौली पर्वमा विशेष पूजा हुने मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।