नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा यसवर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ ।
प्रतिस्पर्धाबाट सिकार गराउन विभागले बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । सिकार खेलाउन इच्छुक कम्पनीले १५ दिनभित्रमा विभागमा दरभाउपत्र बुझाउने छन् ।
बोलपत्रको प्रक्रियाबाट छानिएपछि मात्र कम्पनीले सिकारका लागि अनुमतिपत्र पाउने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाई छ । गत सिकार याममा नेपाल ट्राभल एक्पिडिशन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले सिकार खेलाएका थिए ।
दोस्रो याममा पनि यिनै कम्पनीबीच प्रतिस्पर्धा हुने ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले बताउनुभयो । बोलपत्रमा हुने प्रतिस्पर्धापछि बल्ल कम्पनीले पाउने सिकारको कोटा र दर थाहा हुन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ ।
कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघिको याममा एउटा नाउर सिकारको १३ लाख ५१ हजार र झारल सिकारको १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए ।
आरक्षमा वर्षेनी असोज–मंसिर र फागुन–वैशाख गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ । विभागले दुवै याममा गरी वर्षमा जम्मा २० नाउर र ११ झारलको सिकार कोटा निर्धारण गर्छ । गत सिकार याममा १० नाउर र ६ झारलको सिकार कोटा छुट्याइए पनि ९ नाउर तथा ३ झारलको मात्र सिकार गरिएको थियो ।