आज महाशिवरात्री। शिव पूजा, धुनी जगाएर मनाइदै

-


     कालिका दर्शन     
     फागुन १७ गते २०७८ मा प्रकाशित


आज महाशिवरात्री । फागुन कृष्ण चतुर्दशी, ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन । चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ। यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतूलनिय छ ।
शिवजी उत्पत्ति हुनुभएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा समेत वर्णन गरिएकोले यस पर्वको निकै ठूलो महत्व छ ।

सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ।
भगवान शिवको पूजा आराधना गर्ने जोकोहि पनि यस दिन व्रत बसी शिवधुनी जगाएर भगवानको नाम जप्दछन् । यसदिन विहानै कालि गण्डकी नदी, तलाउ, कुण्ड तथा पधेरामा स्नान गरि विभिन्न शिव मन्दिर अर्थात् शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा पाठ गरि यो पर्व देशैभर मनाईन्छ । यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् ।

आरोग्यदेव पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष नेपाली र भारत लगायतका अन्य विभिन्न देशहरुबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गरेका छन् । शिवरात्रीको अवसरमा पशुपतीनाथ मन्दिरमा निकैठूलो भिडभाड हुने गर्दछ । त्यहा हरेका बर्ष भब्य तयारी गरिन्छ ।भारतबाट हरेक वर्ष नागा बाबाहरु पनि पशुपति नाथमा आउने गर्छन् । बागलुङको गौरीधाम, काठेखोलाको बिहुरामकोट, ॐशान्ति लगायतका शिव मन्दिरमा पनि भक्तजनहरुको ठूलो सहभागिता रहने गर्दछ ।

शिवरात्रीको सन्दर्भलाई जोडेर विभिन्न विद्यालयहरु तथा सामाजिक क्लबहरुले शिव र पार्वतीको भेषभुषामा कला प्रर्दशनी गरी मनाउँछन् । शिवजीको महिमा र शिवरात्रीलाई जोडेर भजन प्रतियोगीताहरु संचालन हुने गरेका छन । शिवमन्दिरहरु तथा घर आगन र चोकमा भक्तजनहरु शिवधुनी जगाएर बसेको पनि देखिन्छ ।
हरेक बर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ र यसक्रमको शुरुवात भने सन् १९३५ बाट भएको बताइन्छ । शिवरात्रिका दिन नेवा समुदायले शिलाचह्रे मनाउने र पूजा गर्ने गर्दछन् ।