गौरीधाम शिव मन्दिरमा भक्तजनहरुको भिडभाड

-


     कालिका दर्शन     
     फागुन १७ गते २०७८ मा प्रकाशित


महाशिवरात्रीको विषेश अवसरमा बानपा ४ स्थित गौरीधाम शिवमन्दिरमा बिहानै देखि शिवभक्तहरुको उल्लेख्य उपस्थिति देखिएको छ । सबेरै स्नान गरी भक्तजनहरुले शिवलिङ्गमा विशेष पुजा आजा गरी अर्घ अर्पणा गरेको देखिन्छ । नानाथरीका फूलप्रसादी, फलफूल, गाईको दूध,जल सहित भक्तजनहरु लाइनबद्ध भएर पुजा अर्चना गरिरहेको देखिन्छ

मन्दिरको अग्रभागमा भजन किर्तन चलिरहेको छ । शिबभक्तहरुको नाचगानले मन्दिर क्षेत्रको वातावरण निकै रमाइलो देखिन्छ । निकै हर्षित मात्रमा युवा युवतीहरु मन्दिर प्रवेश गरेको देखिन्छ ।शिवशात्रीको अवसरमा मन्दिरमा सरसफाई गरिएको छ । स्वंयम सेवक तथा सुरक्षाकर्मिहरुको सक्रियता देखिएको छ ।

यस पटक विगत बर्षहरुमा भन्दा भक्तजनहरुको उपस्थिति केही बढी देखिएको गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिशीले जानकारी दिनु भयो । जिशीका अनुसार मन्दिरको पूजा व्यवस्थापनका लागि ४ जना पुजारीहरुको व्यवस्था मिलाइएको छ । मूल मन्दिर वरपर रहेका अन्य मन्दिरहरुमा पनि आवश्यकता अनुसार स्वंयम सेवकहरुको व्यवस्था मिलाइएको छ ।


२०५८ साल असार १७ गतेदेखि विधिवत मन्दिर बनाई भगवान शिवको विशेष पूजा आजा शुरु गरिएको गौरीधाम मन्दिरमा पूर्वाधार निर्माणका कामहरुले गतिलिएको देखिन्छ । खानेपानी, शौचालय, मन्दिर क्षेत्र बिस्तार, प्रवेशद्धार सहितको बाटो लगायतको व्यवस्थापन राम्रो बनाइएको छ ।


महाशिवरात्रीको अवसरमा गौरीधाममा सांझ महाबक्ति प्रज्वलन गरी आज रातभर भजन किर्तन सहित जागा बस्ने कार्यक्रम रहेको अध्यक्ष जिशीले जानकारी दिनु भयो । सो अवसरमा शिवधुनी लगाइने छ । भोली बिहान यहांको फूलप्रसाद कालिगण्डकीमा बगाउने र स्नान गरी फर्कने पनि जिशीले जानकारी दिनु भयो ।