कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्रेको पर्खाइमा

-


     कालिका दर्शन     
     फागुन १८ गते २०७८ मा प्रकाशित


दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रे बजेट अभावमा रोकिएको छ ।
बागलुङको मालढुंगादेखि जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीको पालुङगोलासम्म ४८ किलोमीटर खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको भएपनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगर्दा काम रोकिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रुपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रेका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै अर्थ मन्त्रालय र योजना आयोगलाई पत्राचार गरेको थियो ।
मन्त्रालयले बजेट उपलब्ध नगराउँदा उक्त खण्डको काम अल्झिएको करिडोर आयोजना कार्यालयका सूचना अधिकारी सरोज ढकालले बताउनुभयो । मन्त्रालयको पत्राचारपछि सडक कालोपत्रे हुने आशामा रहेका सर्वसाधारण अहिले निराश भएका छन् । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा लिइने करिडोरको तत्काल कालोपत्रे थाल्नुपर्ने जैदीका विष्णुराज पौडेलले बताउनुभयो ।
उक्त खण्ड कालोपत्रेका लागि मन्त्रालयले एक अर्ब, ६८ करोड ८८ लाख ३० हजार १ सय ३० रुपैयाँ बजेट माग गरेको थियो । बागलुङ कुश्मीशेरा सडकको बागलुङ नगरपालिका–१० गलुवामा गत असार १ गते खसेको पहिरो रोकथाम तथा सडक मर्मतको कामका लागि स्रोत सुनिश्चित नहुँदा यो वर्ष काम नहुने भएको हो ।