‘एमसीसी पास गरिनु गम्भीर राष्ट्रघात

-


     कालिका दर्शन     
     फागुन २१ गते २०७८ मा प्रकाशित


राष्ट्रिय जनमोर्चा बागलुङले शुक्रबारदेखि दुई दिने प्रशिक्षण भेला सुरु गरेको छ । भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले गर्नु भएको थियो ।
भेलामा बोल्दै महासचिव भट्टले सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गरेर गम्भीर राष्ट्रघात गरेको बताउनुभयो । पछिल्लो समय नेपालको राष्ट्रियता कमजोर भएको बताउँदै उहाँले संसदबाट एमसीसी पारित गरिनु गम्भीर राष्ट्रघात भएको उल्लेख गर्नुभयो ।
उहाँले प्रतिगमण बिरुद्ध संघर्षमा बनेको पाँच दलीय गठबन्धन भित्रका पार्टीहरुले राष्ट्रियताको बिषयमा अडान लिन नसक्दा गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरीएको बताउनुभयो । राष्ट्रिय जनमोर्चा राष्ट्रियता र जनजीविकाकोे सवालमा कुनै पनि सम्झौता गर्न नसक्ने बताउदै प्रतिगमन बिरुद्ध साथै राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह ईन्चार्ज गौरीश्वर पाण्डे, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सहसचिव तथा गण्डकी प्रदेश मामिला सभापति खिमबिक्रम शाहीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, नेकपा मसाल बागलुङका प्रवक्ता मेखबहादुर पाईजा र युगदर्शन प्रालिका व्यवस्थापक हरिकान्त शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो
उद्घाट कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धर्मबहादुर कुँवरको स्वागत र सचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
फागुन २० र २१ गते २ दिनसम्म सञ्चालन हुने जिल्ला प्रशिक्षण भेलामा विभिन्न राजनीतिक बिषयमा प्रशिक्षण हुनुका साथै ०७९ बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचन सम्बन्धी बिषयमा निर्णय समेत हुने जनमोर्चाले जनाएको छ ।