कालीगण्डकी करिडोर मालढुंगा–बलेवा बाटो कालोपत्रे हुने

-


     कालिका दर्शन     
     फागुन २१ गते २०७८ मा प्रकाशित


राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ–बलेवा बिमानस्थल खण्ड कालोपत्रेको बाटो खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएकाले बागलुङ नगरपालिका वडा नम्बर १ मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किलोमिटर खण्ड कालोपत्रेका लागि बाटो खुलेको हो ।
चालु आर्थिक बर्षमा कालीगण्डकी करिडोरका लागि विनियोजित बजेटबाट उक्त खण्ड कालोपत्रेका लागि अर्थमन्त्रालयले स्रोत सूनिश्चित गरेको छ । फागुन १८ गते सडक विभागलाई पत्राचार गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्रोत सूनिश्चित भएको भन्दै कालोपत्रे गर्ने कामको प्रक्रिया अघि बढाउन भनेको छ ।
उक्त खण्ड कालोपत्रेका लागि ९३ करोड १ लाख ७५ हजार रुपैयाँको स्रोत सूनिश्चित गरेको पत्र अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लेखेको छ । अर्थले स्रोत सूनिश्चित गरेको पत्र तालुक मन्त्रालयबाट सडक विभागमा प्राप्त भएकाले बहुबर्षे ठेक्का प्रक्रियाको काम सुरु हुने करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
यसअघि बैशाखमा घोषणा गरिएको स्थानीय तहको निर्वाचनका कारण बजेटको अभाव हुनसक्ने संकेत अर्थमन्त्रालयले गरेका थियो । बलेवादेखि जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीको अदुवाबारी २० किलोमिटर खण्डका लागि पनि स्रोत सूनिश्चित माग गरेको छ ।