भकुण्डेमा बागलुङ नगरपालिका स्तरिय होम स्टे फेडेरेशन गठन गरिएको छ । भकुण्डेमा रहेका १६ होम स्टे व्यवसायीहरुको भेलाबाट यम बहादुर थापाको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष सिता छन्ट्याल थापा, सचिव मनिष थापा, कोषाध्यक्ष पहेली थापा तथा सदस्यहरुमा चन्द्रवीर थापा, अप्सरा थापा, किरण थापा रहनु भएको छ ।
नेपाल होमस्टे फेडेरेशनको पालिकास्तरमा समिति गठन गर्ने नीति अनुसार प्राप्त सर्कुलर अनुसार भकुण्डेमा पालिकास्तरको समिति गठन भएको बताइएको छ । पछिल्लो नीति अनुसार सामुदायिक होमस्टे संचालनका लागि १० जना सहभागी भएर दर्ता गर्न सकिन्छ । प्राइभेट होमस्टे भने एक जनाले पनि दर्ता गर्न सकिन्छ । हाल होमस्टे पालिकाबाट नै दर्ता गरी संचालन गर्न सकिन्छ ।
बागलुङ नगरपालिकाका १४ वडाहरु मध्ये भकुण्डेमा मात्र होमस्टे रहेको पाइन्छ । बागलुङ बजार देखि नजिक रहेकाले पर्यटकहरुको रोजाईमा भकुण्डेका होमस्टेहरु रहने गरेका छन । बागलुङ जिल्लामा गत बर्ष २८ होमस्टेहरु दर्ता रहेको र पछिल्लो बर्ष दर्ता गरी होमस्टे संचालनको आकर्षण बढ्दै गैरहेको जिल्ला होमस्टे समितिका संयोजक खिम थापाले बताउनु भयो ।