भकुण्डे बराह ताल, आकर्षक पर्यटकिय गन्तव्य

-


     कालिका दर्शन     
     फागुन २३ गते २०७८ मा प्रकाशित


राजु खड्का,बागलुङ /बागलुङ नगरपालिका वार्ड नं.१० भकुण्डे मगर समुदायहरु धेरै बस्ने क्षेत्र हो । यहां तारामी, जोल्मी, काफल डटे, सिजाली मगरहरुको बसोबास रहेको पाइन्छ । बागलुङ बजारदेखि ठिक दक्षिण तर्फ रहेको भकुण्डे काठेखोलाबाट माथि शौर्यको डाडासम्म फैलिएको भिरालो भिरालो उत्तर फर्केको भूभाग हो । यसै भकुण्डेको करिब विच भागमा एउटा गोलो ताल रहेको छ । यस ताललाई बराह ताल भन्ने गरिन्छ । ताल रहेको हुनाले यस ठाउंलाई दह पनि भनिन्छ ।


समुद्र सतहदेखि १३५० मिटरको उचाईमा गोलाकार व्यास ६० मिटर, परिधि १८८ मिटर र करिब १०१२ फिटको गहिराई भएको अत्यान्तै शुन्दर र रमाइलो ताल रहेको छ । यो तालको विचमा बइसका १८ वटा रुखहरु रहेका छन । बइसका रुखमा सुनाखरी फुल्ने गर्दछन । केही बर्ष पहिला त यो तालमा सेतो कमल फुल्ने गरेको जेष्ठ, पाका स्थानियहरु बताउछन । यो तालमा माछाहरु पनि रहेका छन । पछिल्ला दिनमा माछाका भुराहरु पनि छोड्ने गरिएको छ ।
शुरुमा यो ताल खेतको विचमा पानी निस्केर बनेको थियो रे । पछि यसको व्यवस्थापन हुदै जादा हालको स्वरुपमा रहेको हो । यो तालको गाजाको दहसंग पनि साइनो छ भनेर जेष्ठ पाका मानिसहरु अहिले पनि बताउने गर्दछन । गाजाको दहमा पाइने देउनियाली र खर्सुङको पात यहाको तालमा पनि देखिन्थ्यो भन्ने किम्बदन्ती रहेको छ । दुवै स्थानका दहको स्वरुप करिब करिब मिल्दो जुल्दो पाइन्छ । दुवै तालमा बराहको बिशेष पुजा गरिन्छ ।


यसै तालको नजिक एउटा बराह मन्दिर पनि रहेको छ । यस मन्दिरको पूजा संचालन गर्न तत्कालिन श्री ५ को सरकारले गुठी जग्गाको बन्दोबस्त गरी वि.सं. १०८२ मा पदमपाणि उपाध्यायको नाममा लागत अध्यावधि गरेको पाइन्छ ।
यस मन्दिरमा पंचमी, दशमी र पूर्णिमाको दिन नियमित पूजा हुने गरेको छ । जेठ र आश्विन पूर्णिमामा भेंडाको सांढ बलि दिएर तथा बैकुण्ठ चतुर्दशी एवं कार्तिक पूर्णिमामा बिशेष पूजा आजा सहित तोरण तार्ने गरिन्छ । यो समयमा भव्य मेला लाग्ने गर्दछ । यो दिन सयौं नरनारीहरु तथा टाडा टाडाबाट मानिसहरु यहांको तोरण बाधेको तथा देउ आएको हेर्न आउने गर्दछन । यो समयमा भजक किर्तन, पञ्चेबाजा तथा स्थानिय लोक संगितको विविध गतिविधिहरु प्रदर्शन गरेको पाइन्छ ।
वि.सं. २०५८ सालतिरबाट यस ताल तथा मन्दिरको संरक्षण एवं व्यवस्थापनको कार्य शुरु गरेको पाइन्छ । यो समयमा ताल भित्रको माटो सफा गर्ने, तालको वरीपरी पर्खाल लगाउने, रेलिङ लगाउने कार्य गरियो । यसै समयमा बराह मन्दिर र नजिकै सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरियो ।


पर्यटनको हिसावले यो ताल निकै रमणिय मानिएको छ । सङ्लो सफा पानी तेसमा धौलागिरी हिमालको चम्किलो छायांलाई समेटेर फोटो खिच्नेहरुको रमाइलोपन बेग्लै हुन्छ । तालबाट देखिने हिमसृङ्खला तथा बागलुङ बजार सहितको परिदृश्यको आकर्षण बेग्लै देख्न पाइन्छ । तालमा डुङ्गा पनि चलाउने व्यवस्था रहेको छ । तालको वरपर स्थानिय किसानहरुले मौषम अनुसारको खेतीपाती गरिरहेका हुन्छन । तालसम्म पुग्नको लागि यातयातको सहजै सुविधा रहेको छ । तालमा पुग्न पदमार्गको सुविधा पनि रहेको छ ।